• विजय अधिकारी (संवाददाता) मनाङ, ११ कात्तिक २०८३ बुधबार । भारी वर्षा र हिमपातको सम्भावनाले विपद्को जोखिम बढ्न सक्ने भन्दै हिमाली जिल्ला मनाङमा प्रहरीले सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रतिकूल मौसमको प्रक्षेपण गरेपछि मर्स्याङ्दी नदी र आसपासका खोलामा बाढी आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले स्थानीय बासिन्दालाई सचेत गराएको हो । आज साँझदेखि मनाङ सदरमुकाम चामे र आसपासका बस्तीमा माइकिङ सुरु गरिएको प्रहरीले जनाएको छ । चामेदेखि कोतो हुँदै भ्राताङसम्मका बासिन्दालाई सम्भावित बाढी तथा मौसमजन्य विपद्बारे जानकारी गराउँदै जोखिमबाट जोगिन आग्रह गरिएको छ ।

विशेषगरी नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सम्भावित विपत्तिप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ । प्रहरीले जोखिमयुक्त स्थानमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरेको छ । प्रतिकूल मौसमका बेला लापरबाहीले जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सम्भावित जोखिमलाई बेवास्ता नगर्न र सतर्कता अपनाउन प्रहरीले स्थानीयवासीलाई सचेत गराएको छ ।

















