हेडलाईनसमाचारगण्डकी

लमजुङमा दशैँभर १ सय ८३ सवारीसाधन कारबाहीमा, १ लाख ९४ हजार राजस्व संकलन

• विजय अधिकारी (संवाददाता) लमजुङ, १० कात्तिक २०८३ मंगलबार । लमजुङमा दशैँको अवधिभर ट्राफिक नियम उल्लङ्घन गर्ने १ सय ८३ वटा सवारीसाधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरी १ लाख ९४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।

चाडपर्वमा यात्रुको चाप र सवारी आवागमन बढ्ने समयमा ट्राफिक नियम उल्लङ्घनका घटना नियन्त्रण गर्न निगरानी बढाइए पनि सवारीसाधनको लापरबाही र यात्रुको सुरक्षासम्बन्धी चुनौती कायमै रहेको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक गौतम खत्रीले प्रहार समाचारसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ वटा र यात्रु तथा सर्वसाधारणको गुनासोका आधारमा निर्धारित भाडादरभन्दा बढी भाडा असुल्ने १० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।

त्यस्तै, सिट क्षमताभन्दा बढी यात्रु राख्ने वा सवारीसाधनका अन्य भागमा समेत मानिस राखेर यात्रा गराउने ५७ वटा तथा हेलमेट र सिटबेल्ट प्रयोग नगरी सवारी चलाउने नौ वटा सवारीसाधन कारबाहीमा परेका छन्। यात्रुको सुरक्षालाई बेवास्ता गर्दै क्षमताभन्दा बढी यात्रु बोक्ने र मनपरी भाडा असुल्ने प्रवृत्तिमाथि प्रभावकारी नियन्त्रण आवश्यक देखिएको छ।यसैबीच, दशैँ अवधिभर लमजुङ जिल्लामा दुईवटा सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य गरी चार जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। चाडपर्वमा दुर्घटना न्यूनीकरण, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिको नियन्त्रण, निर्धारित भाडादरको कार्यान्वयन र यात्रुको सुरक्षित यात्राका लागि ट्राफिक निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ। राजस्व संकलन र कारबाहीको तथ्यांक सार्वजनिक हुनु मात्रै पर्याप्त छैन, सडकमा नियमको पालना र यात्रुको सुरक्षाको प्रत्याभूति हुनु नै ट्राफिक व्यवस्थापनको वास्तविक सफलता हो ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button