हेडलाईनसमाचारगण्डकी

पोखराको औषधि पसलमै लागुऔषधको डङ्गुर : नियमनमाथि गम्भीर प्रश्न

प्रहार समाचार । कास्की, ७ कात्तिक २०८३ शनिबार ।प औषधि बेच्ने पसलबाटै प्रतिबन्धित लागुऔषधजन्य औषधिको ठूलो परिमाण बरामद भएपछि औषधि बिक्री–वितरणको नियमन र अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ।

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट प्रहरीले चार प्रकारका ७ हजार १ सय ६० चक्की औषधि बरामद गर्दै सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरेको छ। उपचारका लागि औषधि उपलब्ध गराउनुपर्ने फार्मेसीबाटै यति ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला पर्नुले औषधि कारोबारको निगरानी प्रणालीमाथि प्रश्न खडा गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसलमा जाँच गर्दा कोडिप–पी (कोडिन) ६ हजार ४ सय, प्रेगाबालिन ४ सय ५०, लोराजेपाम १ सय ५० र क्लोर्डियाजेपोक्साइड १ सय ६० चक्की बरामद गरेको हो।

औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै यति ठूलो परिमाणमा औषधि बरामद हुनुले यस्ता औषधिको स्रोत, बिक्री अभिलेख र वितरण प्रक्रियामाथि प्रभावकारी छानबिन आवश्यक देखाएको छ। प्रहरीले घटनालाई लागुऔषधसम्बन्धी कसुरका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्रकुमार पासवानले पनि यस्तो घटनाले बिक्री–वितरणको नियमन र अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन्।

पोखरामा यसअघि पनि औषधि पसलबाट लागुऔषधको अवैध कारोबार हुने गरेको घटना सार्वजनिक भइसकेका छन्। प्रश्न एउटै छ—औषधि पसलबाटै यस्ता औषधि ठूलो परिमाणमा बाहिरिँदा सम्बन्धित निकायको निगरानी कहाँ थियो? अब पक्राउमा सीमित नभई औषधि कहाँबाट आयो, कसलाई बिक्री गरिन्थ्यो र नियमनमा कहाँ कमजोरी भयो भन्ने विषयमा समेत निष्पक्ष छानबिन हुन आवश्यक छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button