• विजय अधिकारी (संवाददाता) लमजुङ, ५ असोज २०८३ बिहीबार | लमजुङको बेँसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेँसीसहर नगरपालिका–११, चिती तिलाहारका २१ वर्षीय हरिबहादुर परियार रहेका छन्। तीन जना युवकले प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको सूचना पाएपछि अनुसन्धानमा जुटेको प्रहरीले चोरी भएका मेसिनसहित परियारलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेँसीसहर नगरपालिका–८, ठाडोलाइनमा पसल व्यवसाय गर्दै आएका भरतकुमार श्रेष्ठले सञ्चालन गरेको अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
सोही क्रममा कात्तिक ३ गते दिउँसो करिब ३ बजे चोरी भएका मोटर मेसिन बोकेर पैदल हिँडिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेँसीसहर नगरपालिका–९, सित्तलपाटी क्षेत्रबाट परियारलाई मेसिनसहित पक्राउ गरेको हो।पक्राउ परेका परियारविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न लमजुङ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरू भने अझै पक्राउ परेका छैनन्। उनीहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
























