प्रहार समाचार । काठमाडौँ, ३ कात्तिक २०८३ मंगलबार । राजधानी काठमाडौँको हनुमानढोका दरबार परिसरको तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज महानवमीमा सर्वसाधारणका लागि खुल्ला भएको छ । बाँकि बन्द रहने मन्दिरको ढोकाबाहिर भक्तजनको भीड र निरन्तर पूजा देखिन्छ, तर यसको पछाडि रहेको ऐतिहासिक कारण भने अझै स्पष्ट रूपमा सार्वजनिक छैन।

शताब्दीयौँ पुरानो धार्मिक परम्परा बोकेको मन्दिरबारे जनविश्वास सुनिन्छ, तर त्यसलाई पुष्टि गर्ने ऐतिहासिक आधार र आधिकारिक व्याख्या सर्वसाधारणसामु प्रस्ट रूपमा आउन सकेको छैन।मल्लकालीन राजाहरूकी आराध्यदेवी मानिने तलेजु भवानीको मन्दिर काठमाडौंको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा हो।
नेपाल पर्यटन बोर्डले यसको निर्माण सन् १५४९ मा भएको उल्लेख गरे पनि हनुमानढोका दरबार संग्रहालयसहितका केही स्रोतमा सन् १५६४ उल्लेख छ। निर्माण वर्षमै देखिने यो भिन्नतासँगै मन्दिर वर्षमा एक दिन मात्र किन खुल्छ, परम्परा कहिलेदेखि सुरु भयो र यसको निरन्तरताको ऐतिहासिक आधार के हो भन्ने प्रश्नको प्रमाणमा आधारित जवाफ आवश्यक छ। तर रिपोर्टिङका क्रममा पुजारी, व्यवस्थापन अधिकारी र इतिहासविद्बाट स्पष्ट जवाफ प्राप्त हुन सकेन।मन्दिर सर्वसाधारणका लागि बन्द रहनु र त्यहाँ पूजा नहुनु फरक विषय हुन्। परम्पराअनुसार नित्यपूजा हुने भए पनि सार्वजनिक दर्शन सीमित छ।
बन्द ढोकाअगाडि हात जोडिरहेका भक्तजनको आस्थामाथि प्रश्न होइन, त्यस आस्थासँग जोडिएको इतिहास र परम्पराबारे स्पष्ट सूचना दिनुपर्ने दायित्वमाथि प्रश्न उठ्छ। धार्मिक विश्वासलाई सम्मान गर्दै मन्दिरको इतिहास, प्रवेशसम्बन्धी परम्परा र त्यसका आधारबारे सम्बन्धित निकायले प्रमाणसहित जानकारी सार्वजनिक गर्नुपर्छ। आखिर, ऐतिहासिक सम्पदाको संरक्षण भनेको ढोका बन्द राख्नु मात्र होइन, त्यसको इतिहास र परम्परालाई पारदर्शी रूपमा अभिलेखित गर्नु पनि हो।
























