प्रहार समाचार । गोरखा, ३१ असोज २०८३ शनिबार । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा आज गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

बिहान शुभसाइतमा विधिपूर्वक पूजाआजा गरी बाजागाजासहित फूलपातीको बिदाइ गरिएको हो। गोरखा दरबारका सुसारेहरूले परम्परागत विधिअनुसार तयार पारेको डोली सरकारी गाडीमा राखेर काठमाडौँ पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए ।
फूलपातीका लागि आवश्यक हलेदो, धान, बेलपत्र, जयन्ती झारलगायतका सामग्री संकलन गरी गोरखा दरबारको दसैँघरमा राखिएको थियो। गोरखाबाट पठाइएको फूलपाती आजै साँझ हनुमानढोका दरबारस्थित दसैँघरमा परम्परागत विधिअनुसार भित्र्याउने कार्यक्रम रहेको छ। ऐतिहासिक परम्पराअनुसार फूलपातीको डोली हनुमानढोका पुर्याइएपछि बाजागाजा र हर्षबढाइँसहित स्वागत गरी दसैँघरमा स्थापना गरिन्छ।
फ ऐतिहासिक परम्पराअनुसार फूलपातीको डोली हनुमानढोका पुर्याइएपछि बाजागाजा र हर्षबढाइँसहित स्वागत गरी दसैँघरमा स्थापना गरिन्छ। ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सञ्चालन गर्न थालेपछि गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको फूलपातीका दिन हनुमानढोका दरबारमा फूलपाती पठाउने परम्परा सुरु भएको हो। पहिले धादिङको जीवनपुर र नुवाकोट हुँदै पैदलमार्गबाट फूलपाती काठमाडौँ पुर्याउने गरिए पनि २०६६ सालदेखि मोटरबाटो प्रयोग गर्न थालिएको हो। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।



















