हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

तनहुँको पुर्कोट कालिका क्षेत्रबाट गोरखाको गोरखकाली मन्दिरसम्म ऐतिहासिक फूलपाती हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, ३० असोज २०८३ शुक्रबार । तनहुँको भानु नगरपालिका–७ मा रहेको ऐतिहास पुर्कोटगढीस्थित पुर्कोट कालिका क्षेत्रबाट गोरखाको गोरखकाली मन्दिरसम्म जोडिएको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जीवन्त राख्दै ऐतिहासिक फूलपाती हस्तान्तरण तथा ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ।

श्री कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रमले पुर्खाले छाडेको इतिहास, धार्मिक आस्था र सांस्कृतिक विरासत संरक्षणको सन्देश दिएको छ। तर, फूलपातीको डोलीसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो गौरवपूर्ण परम्परालाई अब भावनात्मक उत्सवमा मात्र सीमित नराखी प्रमाण, अनुसन्धान र संस्थागत संरक्षणमार्फत जीवन्त राख्नुपर्ने आवश्यकता पनि उत्तिकै टड्कारो बनेको छ। ऐतिहासिक विवरण तथा जनश्रुतिअनुसार पुर्कोटको सम्बन्ध तनहुँ राज्यको इतिहास र गोरखाको राजपरम्परासँग जोडिन्छ। गोरखाका राजा पृथ्वीपति शाहका छोरा वीरभद्र शाह, तनहुँकी राजकुमारी तथा नरभूपाल शाहको जन्मसम्बन्धी परम्परासँग पुर्कोटको ऐतिहासिक सम्बन्ध रहेको मानिन्छ। यही परम्पराको स्मृतिमा पुर्कोट कालिकाबाट गोरखकाली मन्दिरसम्म फूलपाती लैजाने चलनले विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। यद्यपि, यस्ता ऐतिहासिक कथनलाई प्रामाणिक अभिलेख, पुरातात्त्विक अध्ययन र तथ्यपरक अनुसन्धानबाट पुष्टि गर्दै व्यवस्थित दस्तावेजीकरण गर्नु आवश्यक छ।

इतिहासको गौरव केवल जनश्रुतिमा दोहोर्‍याएर होइन, प्रमाणसहित भावी पुस्तालाई हस्तान्तरण गरेर सुरक्षित हुन्छ।भानु नगरपालिकाका नगरप्रमुख आनन्दराम त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णा राना मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए।

गोरखा दरबार हेरचाह अड्डाका कार्यकारी प्रमुख मिमि प्रधान, भानु नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरे, गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी, पुजारी रारु राना मगरलगायतको उपस्थिति रहेको थियो। धार्मिक विधिअनुसार सम्पन्न फूलपाती हस्तान्तरण तथा ग्रहणले दुई नगरबीचको ऐतिहासिक सम्बन्धलाई पुनः स्मरण गराउँदै सांस्कृतिक सहकार्यको महत्त्व उजागर गरेको छ। कार्यक्रममा दुवै नगरपालिकाका तर्फबाट सम्पदा संरक्षण, ऐतिहासिक तथ्यको अध्ययन, सांस्कृतिक परम्पराको अभिलेखीकरण तथा विकासका काममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। यस अभियानलाई संस्थागत रूपमा अघि बढाउन भानु नगरपालिकाले पुर्कोटगढी तथा पुर्कोट कालिका क्षेत्रको सम्पदा संरक्षण र प्रवर्द्धनका लागि तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। समितिले नगरपालिकाप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले संरक्षणका आगामी काममा योगदान पुर्‍याउने विश्वास जनाएको छ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरले कार्यक्रममा सहभागी करिब ९० जना श्रद्धालु भक्तजन तथा सहभागीका लागि भोजनको व्यवस्था गरेका थिए। स्थानीय सरकारको आर्थिक सहयोग र जनप्रतिनिधिको सहभागिता सकारात्मक सुरुआत भए पनि ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणका लागि नियमित बजेट, प्राविधिक अध्ययन, सम्पदाको अभिलेख, पूर्वाधार व्यवस्थापन र स्पष्ट कार्ययोजनासहितको निरन्तर पहल अपरिहार्य छ।फूलपातीको डोलीले पुर्कोट र गोरखाबीचको सम्बन्धलाई हरेक वर्ष सम्झाइरहे पनि त्यससँग जोडिएको इतिहास, परम्परा र पुरातात्त्विक महत्त्वको संरक्षण सबै सरोकारवालाको साझा दायित्व हो।

श्री कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष पुकार गुरुङले यस परम्परालाई व्यवस्थित, प्रमाणमा आधारित र पुस्तान्तरणयोग्य बनाउने अभियानलाई निरन्तरता दिनुपर्ने चुनौती र अवसर दुवै रहेको उल्लेख गरे । स्थानीय सरकार, संरक्षण समिति, इतिहासविद्, पुरातत्त्वविद् र समुदायबीच प्रभावकारी सहकार्य हुन सके पुर्कोटगढी केवल धार्मिक आस्थाको केन्द्रमा सीमित रहने छैन; यो नेपालको इतिहास, सांस्कृतिक पहिचान र पुस्तौँबीचको सम्बन्ध उजागर गर्ने महत्त्वपूर्ण सम्पदाका रूपमा स्थापित हुन सक्ने अध्यक्ष गुरुङले उल्लेख गरे ।

विज्ञापन:



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button