हेडलाईनसमाचारबागमती

रसुवाको भोटेकोशी बाढीको कहर : प्रारम्भिक अनुमानमै ७९ अर्ब १७ करोडको क्षति, हजारौँ परिवारको उठीबास

प्रहार समाचार । रसुवा, ३० असोज २०८३ शुक्रबार । रसुवागढी र भोटेकोशी नदीमा गत १० भदौमा आएको बाढीले निम्त्याएको विनाशको प्रारम्भिक हिसाबले नै मुटु झस्काएको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ गरी कुल ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

यो केवल प्रारम्भिक अनुमान हो; पूर्वाधार, उत्पादनशील, सामाजिक तथा वातावरणीय क्षेत्रको क्षति र नोक्सानीको पूर्ण विवरण आउन बाँकी नै छ। यसले बाढीले कति गहिरो आर्थिक चोट पुर्‍याएको छ भन्ने भयावह तस्वीर प्रस्तुत गरेको छ। आयोगका अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा बाढीले ७ हजार ३१६ घरपरिवार तथा व्यवसाय/प्रतिष्ठानलाई प्रभावित बनाएको छ। प्रभावितमध्ये ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान छन् भने ३२ हजार ८७२ व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन्। घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँको क्षति अनुमान गरिनुले यो विपद् घर भत्किने वा सम्पत्ति बग्ने घटनामा मात्र सीमित नरहेको, हजारौँ नागरिकको जीवनयापन, बचत र भविष्यसमेत संकटमा परेको संकेत गर्छ।राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको विवरण प्रारम्भिक सर्वेक्षणमा आधारित रहेकाले क्षतिको अन्तिम आँकडा अझै बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

अहिलेको ७९ अर्ब १७ करोडको अनुमानले नै विपद्पछिको पुनर्निर्माण, प्रभावित परिवारको पुनःस्थापना र व्यवसायलाई पुरानै अवस्थामा फर्काउने चुनौती कति विशाल छ भन्ने स्पष्ट पारेको छ। बाढीको पानी ओर्लिए पनि त्यसले छाडेको आर्थिक घाउ सजिलै निको हुने देखिँदैन; अब प्रश्न क्षतिको अंक गन्नेमा मात्र होइन, घरबार र रोजगारी गुमाएका नागरिकलाई राज्यले कति छिटो, कति प्रभावकारी र कति न्यायोचित ढंगले राहत तथा पुनःस्थापनाको पहुँचमा ल्याउँछ भन्नेमा छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button