हेडलाईनसमाचारबागमती

स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न ‘क्यान्डिडेट क्लब’ गठन

प्रहार समाचार । काठमाडौं, ११ मंसिर २०८३ शुक्रबार । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको गृहकार्य तीव्र बनाएको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दाबी गर्दै ‘क्यान्डिडेट क्लब समिति’ गठन गरेको छ।

समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी चयन भएका छन्। संयोजक बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्य मनोनित भएका छन्। निर्वाचन आउनुअघि नै उम्मेदवार छनोटको संरचना तयार पार्न रास्वपाले थालेको यो कदमलाई स्थानीय तहमा आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्ने रणनीतिक तयारीका रूपमा हेरिएको छ।समितिको बैठकले उम्मेदवार बन्न इच्छुक आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि निर्धारण गर्ने विषयमा छलफल गरेको छ। त्यस्तै, पार्टीबाहिर रहेका योग्य र सक्षम व्यक्तिलाई समेत उम्मेदवार बन्ने अवसर दिन ‘ल्याटेरल इन्ट्री’ आवेदन फारम तयार गर्ने तथा उम्मेदवार छनोटमा उठ्न सक्ने असन्तुष्टि सम्बोधन गर्न दाबी–विरोधको छुट्टै प्रक्रिया बनाउने तयारी गरिएको छ।

परम्परागत राजनीतिक दलहरूमा टिकट वितरणलाई लिएर गुटबन्दी, शक्ति संघर्ष र आन्तरिक असन्तुष्टि देखिँदै आएको पृष्ठभूमिमा रास्वपाले पारदर्शी छनोट प्रक्रियाको अभ्यास अघि सारेको हो। तर, समिति गठन र फारम निर्माणले मात्रै निष्पक्षताको ग्यारेन्टी गर्दैन। वास्तविक परीक्षा भने योग्य उम्मेदवार छनोट, पहुँच र प्रभावभन्दा क्षमता तथा जनविश्वासलाई प्राथमिकता दिने निर्णयमा हुनेछ। अब रास्वपाले आफ्नो पारदर्शिताको दाबी व्यवहारमै कति प्रमाणित गर्छ भन्ने चासो बढेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button