प्रहार समाचार । तनहुँ, ८ मंसिर २०८३ मंगलबार । समयको धुलो र बेवास्ताबीच हराउने जोखिममा रहेको तनहुँको भानु नगरपालिका–७ मा संरक्षित ९१ वर्ष पुरानो ऐतिहासिक अभिलेखको संरक्षण कार्य अघि बढाइएको छ।

वि.सं. १९९२ मा तयार भएको पुर्कोट कालिका तथा गोरखा कालिका देवीको घर–माइतसम्बन्धी उक्त अभिलेख मसीको क्षयीकरण (इन्क करोजन) का कारण जीर्ण बन्दै गएको थियो। ऐतिहासिक महत्व बोकेको अभिलेखमा ठाउँ–ठाउँमा छिद्रसमेत परेपछि यसको अस्तित्व नै संकटमा पर्ने जोखिम बढेको थियो।

भानु–७ निवासी पुकार गुरुङको निवेदनबमोजिम कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिको संरक्षणमा रहेको उक्त अभिलेख जोगाउने पहल सुरु गरिएको हो। मसीको रासायनिक क्षयीकरणका कारण कागजमा प्वाल परेका र अभिलेखका महत्वपूर्ण अंश नष्ट हुने अवस्थामा पुगेका थिए। उपलब्ध स्रोतसाधन, प्राविधिक ज्ञान र सीपको उपयोग गर्दै क्षतिग्रस्त अभिलेखलाई थप बिग्रन नदिन सम्भव भएसम्मको संरक्षण कार्य सम्पन्न गरिएको छ।

कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्षसमेत रहेका पुकार गुरुङको पहलमा अघि बढेको यो काम एउटा पुरानो कागज जोगाउने प्रयास मात्र होइन, स्थानीय धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको प्रमाण सुरक्षित राख्ने महत्वपूर्ण कदम हो। पुर्कोट कालिका र गोरखा कालिकाबीचको देवी घर–माइती सम्बन्ध झल्काउने अभिलेखले तत्कालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धको अध्ययनका लागि समेत ऐतिहासिक आधार प्रदान गर्न सक्छ।

इतिहासका महत्वपूर्ण प्रमाणहरू बेवास्ता, अज्ञानता र संरक्षणको अभावमा नष्ट हुँदै जाने तर त्यसको महत्व बुझिएपछि मात्र संरक्षणको चर्चा गर्ने प्रवृत्तिबीच यो प्रयासले सकारात्मक सन्देश दिएको छ। ९१ वर्ष पुरानो अभिलेख जोगाउने कामले स्थानीय सम्पदाको संरक्षणमा समुदायको जिम्मेवारी र सक्रियताको महत्व उजागर गरेको छ। यस्ता ऐतिहासिक दस्तावेजको संरक्षणसँगै वैज्ञानिक अभिलेखीकरण, डिजिटल प्रतिलिपि र दीर्घकालीन सुरक्षामा समेत सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ।











