हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

मोदीको अङ्कमालदेखि राजकीय सम्मानसम्म, बालेनको भारत भ्रमणले खोज्यो कूटनीतिक परिणाम

प्रहार समाचार । नयाँदिल्ली, ७ मंसिर २०८३ सोमबार । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भव्य राजकीय सम्मान प्रदान गरिएको छ।

भारतीय सेनाको टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ अर्पण गरेको हो। राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ उपस्थित भएर शाहलाई अङ्कमालसहित न्यानो स्वागत गरे।

प्रधानमन्त्री बनेपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा रहेका शाहलाई दिइएको यो सम्मानले नेपालसँगको सम्बन्धलाई भारतले दिएको कूटनीतिक महत्त्वसमेत झल्काएको छ।तर, राजकीय सम्मान, स्वागत र औपचारिक आतिथ्यताभन्दा यो भ्रमणको वास्तविक महत्त्व दुई देशबीचका वर्षौंदेखि अल्झिएका मुद्दामा कस्तो प्रगति हुन्छ भन्नेमा निर्भर रहनेछ। व्यापार घाटा, असमान व्यापार तथा पारवहन निर्भरता, ऊर्जा व्यापार, हवाई प्रवेश मार्ग, सीमा व्यवस्थापन र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणजस्ता विषयमा नेपालले ठोस उपलब्धि खोजिरहेको छ।

विशेषगरी भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप हवाई मार्ग तथा भारतसँगको आर्थिक सहयोगमा नेपालले कस्तो परिणाम हासिल गर्छ भन्ने चासो छ।प्रधानमन्त्री शाह र मोदीबीचको भेटवार्तालाई औपचारिकतामा सीमित राख्ने छुट दुवै देशलाई छैन। नयाँ राजनीतिक नेतृत्वसँगै नेपालले भारतसँगको सम्बन्धमा आत्मसम्मान, समानता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर परिणाममुखी कूटनीति खोजेको छ।

मोदीको न्यानो स्वागत र राष्ट्रपति भवनको सम्मानले भ्रमणको दृश्य आकर्षक बनाए पनि नेपाली जनताले खोजेको उपलब्धि भने भाषण र तस्बिरमा होइन, सम्झौताको कार्यान्वयन, पूर्वाधार विकास, व्यापार सहजीकरण र राष्ट्रिय हितको संरक्षणमा देखिनुपर्छ। नेपाललाई स्वागतको सम्मान मात्रै होइन, राष्ट्रिय हित सुरक्षित हुने ठोस उपलब्धि चाहिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button