प्रहार समाचार । तनहुँ, ३ मंसिर २०८३ बिहीबार । द विद्यार्थी उमेरमै बढ्दो लागुऔषध दुर्व्यसन र साइबर अपराधको जोखिमलाई मध्यनजर गर्दै टिम नेपो तनहुँले विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गरेको छ।

टिम नेपो तनहुँको आयोजना तथा जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा व्यास नगरपालिका–१०, बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत १ सय १ जना विद्यार्थीलाई लागुऔषध दुर्व्यसन र साइबर अपराधका जोखिमबारे सचेत गराइएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक मोहन विक्रम श्रेष्ठले लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने असर, यसको रोकथाम तथा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगबाट निम्तिन सक्ने साइबर अपराधका स्वरूप र बच्ने उपायबारे प्रशिक्षण दिएका थिए।लागुऔषधबाट जोगिनु मात्रै होइन, मानसिक समस्याबारे बोल्न सक्ने वातावरण बनाउनु पनि आवश्यक छ भन्ने सन्देशसहित कार्यक्रममा मनोसामाजिक परामर्शलाई समेत प्राथमिकता दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी हवल्दार गंगा विकले विद्यार्थीलाई मानसिक तथा सामाजिक समस्याको पहिचान, समाधान र आवश्यक परामर्शको महत्त्वबारे प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा टिम नेपोका केन्द्रीय सहसचिव सुजन लौडारी, टिम नेपो तनहुँका पूर्वअध्यक्ष गोविन्द तिमल्सिना, विद्यालयका सहायक प्रधानाध्यापक सीमा श्रेष्ठ, शिक्षक, क्लबका सदस्य तथा सुरक्षाकर्मीको उपस्थिति थियो। कार्यक्रमको संयोजन किशोर न्यौपानेले गरेका थिए।
लागुऔषधको प्रलोभन र साइबर अपराधको पासोबाट बालबालिकालाई जोगाउन समयमै सचेतना र सही मार्गदर्शन आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ। विद्यार्थीलाई गलत संगत र दुर्व्यसनबाट टाढा रहन, डिजिटल माध्यम प्रयोग गर्दा जिम्मेवार बन्न तथा मानसिक र सामाजिक समस्या लुकाएर नराखी खुलेर कुरा गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। टिम नेपो तनहुँकी अध्यक्ष मनीषा आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमले विद्यार्थीमा जोखिम पहिचान गर्ने क्षमता विकास गर्नुका साथै सुरक्षित र जिम्मेवार समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।












