हेडलाईनव्याससमाचारगण्डकीविजनेस

तनहुँको व्यास १३ बेनीकोटलाई उद्यमशील सांस्कृतिक गाउँ बनाउने अभियान, डेढ करोडको परियोजना सुरु

प्रहार समाचार । तनहुँ, १ मंसिर २०८३ मंगलबार । व्यास नगरपालिकाको ग्रामीण क्षेत्रलाई कृषि, पर्यटन र उद्यमशीलतासँग जोड्दै स्थानीय अर्थतन्त्र बलियो बनाउने उद्देश्यसहित व्यास नगरपालिका–१३ बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ निर्माणको अभियान अघि बढाइएको छ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन हुने कृषि तथा पर्यटन प्रवर्द्धन परियोजनाका विषयमा मंसिर १ गतेदेखि ३ गतेसम्म बेनीकोट भञ्ज्याङ, छापडाँडामा अभिमुखीकरण, सचेतना, सम्भाव्यता अध्ययन, स्थानीय प्रतिबद्धता तथा अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो। एक करोड ५० लाख रुपैयाँ लागतको उक्त परियोजनामा गण्डकी प्रदेश सरकारले ७५ प्रतिशत अर्थात् एक करोड १२ लाख ५० हजार र व्यास नगरपालिकाले २५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार रुपैयाँ साझेदारी गर्नेछन्।

परियोजनाअन्तर्गत स्टोन ट्रेल तथा पाहुना घर निर्माण, कालो सुँगुर पालनको व्यवस्थापन, बाँस खेती विस्तार, भुजेल समुदायको बाँस हस्तकलाको संरक्षण, दलित समुदायको परम्परागत पेसा प्रवर्द्धन तथा व्यावसायिक मौरीपालनलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा बोल्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय स्रोत, साधन, सीप र सम्भावनाको सदुपयोग गरेर गाउँमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले विकासका योजना कागजमा सीमित नभई स्थानीयको सक्रिय सहभागिताबाट व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै बेनीकोटलाई कृषि, संस्कृति र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। उपप्रमुख इन्दिरा दरैले स्थानीय कला, संस्कृति, मौलिक पहिचान र परम्परागत पेसाको संरक्षणसँगै महिलासहित स्थानीय समुदायलाई उद्यमशीलतामा जोड्नुपर्नेमा जोड दिइन्।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले परियोजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र उपलब्धिको दिगोपनमा स्थानीयको अपनत्व तथा सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। वडा अध्यक्ष बसन्त आलेले गाउँका नागरिकहरुको आय आर्जतमा यस्ता कार्यक्रम उपयोगि हुने उल्लेख गरे । परियोजनाअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि होमस्टेको स्तरीकरण, आतिथ्यता विकास, मौलिक कला–संस्कृतिको संरक्षण, संग्रहालय व्यवस्थापन, मगर समुदायको पहिचान तथा भेषभूषाको प्रवर्द्धन, प्रचारप्रसार र सरसफाइका कार्यक्रम सञ्चालन हुनेछन्।

त्यस्तै ड्रागन फ्रुट खेती विस्तार, रैथाने बाली संरक्षण तथा सिँचाइ व्यवस्थापनमा पनि लगानी गरिनेछ। २०८३ कात्तिक १६ देखि २०८४ जेठ ३० गतेसम्म सञ्चालन हुने परियोजनाले बेनीकोटको आर्थिक, सामाजिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा व्यास नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, शाखा प्रमुख, कर्मचारी तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो।

प परियोजनाले बेनीकोटको कृषि, पर्यटन र उद्यमशीलतामा नयाँ सम्भावना खोले पनि प्रभावकारी कार्यान्वयन मुख्य चुनौती देखिन्छ। योजना कागजमै सीमित नराखी स्थानीयको सक्रिय सहभागिता, पारदर्शिता र दिगो आम्दानीमा रूपान्तरण गर्न सके मात्रै परियोजनाको सार्थकता पुष्टि हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button