हेडलाईनसमाचारबागमती

प्रेस स्वतन्त्रतामाथि सरकारको प्रहारविरुद्ध पत्रकार महासंघ सडकमा, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै प्रदर्शन गर्ने

प्रहार समाचार । काठमाडौं, १ मंसिर २०८३ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नियन्त्रणमुखी व्यवहार देखाएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध सिर्जना गर्नेलाई कारबाही नगरेको भन्दै महासंघ सरकारविरुद्ध उत्रिएको हो। गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकमसमेत प्रेस काउन्सिलको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको आरोप छ। महासंघले यी घटनालाई पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेप र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको चुनौतीका रूपमा व्याख्या गरेको छ।सरकारको व्यवहारविरुद्ध महासंघले चरणबद्ध दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ। घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ भने मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ।

मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ। त्यस्तै, मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरेका छन्। महासंघले आन्दोलनलाई केवल पत्रकारको पेशागत सुरक्षाको विषय नभई नागरिकको सुसूचित हुने अधिकार र लोकतन्त्रको आधारभूत स्वतन्त्रता रक्षाको अभियानका रूपमा अघि सारेको छ। आन्दोलनको सबैभन्दा कडा कार्यक्रम मंसिर ९ गतेका लागि तय गरिएको छ। उक्त दिन देशभरका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गर्नेछन्। सरकारलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारमाथि भएका हस्तक्षेप रोक्न दबाब दिने उद्देश्यले महासंघले यस्तो प्रतीकात्मक विरोध कार्यक्रम घोषणा गरेको हो। महासंघले आफ्ना माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button