प्रहार समाचार । काठमाडौं, २९ कात्तिक २०८३ आइतबार । पश्चिमी वायुको प्रभावले आइतबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएसँगै जनजीवन र कृषि क्षेत्रमा असर पर्ने जोखिम बढेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । तराईका अधिकांश क्षेत्रमा भने वर्षाको सम्भावना नरहे पनि सुदूरपश्चिमका एकदुई स्थानमा छिटपुट वर्षा हुन सक्ने विभागले जनाएको छ ।मौसमविद् बिनु महर्जनका अनुसार पश्चिमी वायुको प्रभावले पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको हो । आइतबारपछि मौसममा ठूलो परिवर्तन आउने संकेत नरहे पनि वर्षाको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको विभागको भनाइ छ ।
विशेषगरी धान भित्र्याउने समय चलिरहेका स्थानमा वर्षाले किसानको मेहनत र उत्पादनमा क्षति पुर्याउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । थोरै पानीले समेत काटेर सुकाइएको धान बिगार्न सक्ने भएकाले किसानलाई अन्न सुरक्षित स्थानमा राख्न सुझाव दिइएको छ ।नेपाल कृषि संघका अध्यक्ष पञ्चकाजी श्रेष्ठका अनुसार पहाडी तथा उपत्यका क्षेत्रमा धान कटान लगभग सकिएको छ भने तराईका केही क्षेत्रमा अझै धान भित्र्याउन बाँकी छ । कोशी प्रदेशका उदयपुर र विराटनगर आसपास तथा सुदूरपश्चिमका केही तराई क्षेत्रमा धान कटान बाँकी रहेकाले सम्भावित वर्षाले किसानलाई प्रत्यक्ष असर पार्न सक्ने देखिएको छ । मौसमको पूर्वानुमानलाई बेवास्ता गर्दा वर्षभरिको मेहनत खेर जान सक्ने भएकाले किसानले काटेको धान तत्काल सुरक्षित गर्न र मौसमको अवस्थाबारे सचेत रहन आवश्यक छ।





















