• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २९ कात्तिक २०८३ आइतबार । । मौलिक संस्कृति र परम्पराको पहिचान बनेको लमजुङको मध्यनेपाल नगरपालिका–१०, बर्धानस्थित चर्चित २४ पिर्के पिङ दुर्घटनाको जोखिममा परिणत भएको छ। आज दिउँसो पिङको मादल भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा चितवनको भरतपुर महानगरपालिका–११, कैलाशटोलका २७ वर्षीया अञ्जु राना, ३५ वर्षीया मुना थापा र तनहुँ घर भएका ४० वर्षीय ज्ञानेन्द्र सुनार रहेका छन्। उनीहरूको हात, खुट्टा र ढाडमा चोट लागेको छ भने तीनै जनाको पोखरामा उपचार भइरहेको भोर्लेटार प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले प्रहार समाचारलाई जानकारी दिए।परम्परालाई निरन्तरता दिँदै दसैँअघि निर्माण गरिएको उक्त पिङ भाँचिएपछि स्थानीय मौलिक सम्पदाको संरक्षणसँगै सुरक्षाको प्रश्न पनि उठेको छ।

काठबाट विशेष सीप, कला र लामो समय खर्चेर निर्माण गरिने २४ पिर्के पिङ लमजुङको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। तर, पिङको मादल कुन कारणले भाँचियो भन्ने विषयमा अहिलेसम्म यकिन जानकारी सार्वजनिक भएको छैन।संस्कृति जोगाउने नाममा सुरक्षालाई बेवास्ता गर्न मिल्दैन। पुस्तौँदेखि चल्दै आएको परम्पराको निरन्तरता जति महत्वपूर्ण छ, त्यसमा सहभागी हुने नागरिकको जीवन सुरक्षा त्योभन्दा कम महत्वपूर्ण छैन। तीन जना घाइते हुने गरी भएको यो दुर्घटनाले परम्परागत संरचनाको नियमित निरीक्षण, प्राविधिक जाँच र आवश्यक सुरक्षा सतर्कताको खाँचो औँल्याएको छ। मौलिक संस्कृति संरक्षणसँगै त्यसको सुरक्षित सञ्चालनमा सम्बन्धित पक्षले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।





















