प्रहार समाचार । तनहुँ, २ मंसिर २०८३ बुधबार । हरिबोधनी एकादशी अर्थात् ठूलो एकादशीको अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल आदिमूल मन्दिरमा मङ्सिर ४ गते मेला लाग्ने भएको छ।

धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको आदिमूलमा लाग्ने मेलाले यस वर्ष पनि तनहुँसहित आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन भित्र्याउने अपेक्षा गरिएको छ।
हरेक वर्ष हरिबोधनी एकादशीमा लाग्ने यस मेलामा भक्तजनहरू मन्दिरको दर्शन तथा पूजाआजा गर्न पुग्ने गर्छन्। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आदिमूल मन्दिर केवल पूजाआजा गर्ने स्थल मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आस्था, विश्वास र परम्पराको जीवन्त केन्द्रसमेत हो। तर, यस्ता धार्मिक सम्पदाको महत्वलाई वर्षमा एकपटक लाग्ने मेलामा मात्र सीमित नराखी वर्षैभरि धार्मिक पर्यटनसँग जोड्नुपर्ने आवश्यकता देखिन्छ।
मेलाको अवसरमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई आदिमूल मन्दिरमा उपस्थित भई दर्शन तथा मेलाको अवलोकन गर्न आग्रह गरेका छन्। उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मेलालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै उपस्थित भएर मेलाको गरिमा बढाउन अनुरोध गरेका छन्।आदिमूलको धार्मिक महत्व, स्थानीय संस्कृति र प्राकृतिक आकर्षणलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके यो क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ।
त्यसका लागि मेला आयोजना गरेर मात्र पुग्दैन, मन्दिरको संरक्षण, आवश्यक पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकमैत्री व्यवस्थापनमा समेत ध्यान दिन जरुरी छ। यस वर्षको हरिबोधनी एकादशी मेलाले धार्मिक आस्थाको निरन्तरतासँगै आदिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ।






















