हेडलाईनसमाचारगण्डकी

नेपाल प्रेस युनियन लमजुङद्वारा बृहत् वृक्षारोपण कार्यक्रम

• विजय अधिकारी ( संवाददाता ) ३ मंसिर २०८३ बिहीबार । नेपाल प्रेस युनियन लमजुङ शाखाले सुन्दरबजार नगरपालिका–१०, कोइरालाफाँटस्थित बीपी स्मृति पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

‘स्वच्छ वातावरण, समृद्ध भविष्यका लागि’ भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर पार्कको सौन्दर्यीकरण र हरियाली विस्तारको अभियान अघि बढाइएको हो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुन्दरबजार नगरप्रमुख कृष्णप्रसाद कोइरालाले कोइरालाफाँट क्षेत्र कोइराला परिवारको पुर्ख्यौली उद्गमस्थल भएको ऐतिहासिक महत्त्व स्मरण गर्दै महामानव बीपी कोइरालाको स्मृतिमा पार्क निर्माण हुनु गौरवको विषय भएको बताए।

उनले ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्न नसके यसको महत्त्व ओझेलमा पर्न सक्ने भन्दै पार्कलाई ऐतिहासिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य परमेश्वर अधिकारी, नेपाली कांग्रेस लमजुङका प्रवक्ता गणेश गौली, महाधिवेशन प्रतिनिधि बाबुराम पौडेल, प्रेस युनियनका प्रदेश कोषाध्यक्ष एवं नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, केन्द्रीय महाधिवेशन प्रतिनिधि रामजी राना, निवर्तमान अध्यक्ष सन्तोष पौडेल, सुन्दरबजार–१० का वडाध्यक्ष दीपकराज ढकाललगायत जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

बीपी स्मृति पार्क निर्माण समितिका अध्यक्ष कृष्णराज तिवारीको समेत सहभागिता रहेको कार्यक्रम नेपाल प्रेस युनियन लमजुङ शाखाका अध्यक्ष निरज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। वृक्षारोपणले पार्कमा बिरुवा थप्ने काम मात्रै गरेको छैन, ऐतिहासिक स्थलको संरक्षण र वातावरणीय जिम्मेवारीप्रति सरोकारवालालाई सचेत गराउने सन्देशसमेत दिएको छ। तर, रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार र पार्कको दीर्घकालीन व्यवस्थापन हुन सकेन भने यस्ता अभियान औपचारिकतामै सीमित हुने जोखिम रहन्छ। हरियाली रोप्नु सुरुवात हो, त्यसलाई हुर्काएर ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्य बनाउनु नै अबको वास्तविक चुनौती हो।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button