हेडलाईनव्याससमाचारगण्डकीविजनेसमनोरञ्जन

भादगाउँमा हरिबोधनी एकादशी महोत्सवको रौनक, आज चौथो दिन चर्चित कलाकारको प्रस्तुति

प्रहार समाचार । तनहुँ, ४ मंसिर २०८३ शुक्रबार । ‘हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, हरिबोधनी एकादशी महोत्सव हाम्रो साझा पहिचान’ भन्ने नारासहित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित भोटे बजारमा सञ्चालन भइरहेको हरिबोधनी एकादशी सांस्कृतिक महोत्सव आज चौथो दिनमा प्रवेश गरेको छ ।

मंसिर २ गतेदेखि सुरु भएको महोत्सव मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दिनप्रतिदिन दर्शकको आकर्षण बढाउने लक्ष्यसहित आयोजकले सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिएका छन्। महोत्सवको चौथो दिन आज चर्चित कलाकार सहिमा श्रेष्ठ, अर्जुन कौशल र बद्री सापकोटाको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। त्यस्तै, सीता बीसीसहित सुरुची, नम्रता र शर्मीलाको नृत्यले महोत्सवस्थललाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ। स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दर्शकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

यसअघि महोत्सवको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महोत्सवले धर्म, संस्कृति र स्थानीय पहिचानको संरक्षणसँगै आर्थिक तथा पर्यटन गतिविधि प्रवर्द्धनमा योगदान पुर्‍याउने बताएका थिए। यसपटक महोत्सवको मुख्य आकर्षणका रूपमा लण्डन ब्रिज र भ्यू टावर निर्माण गरिएका छन्। आयोजकका अनुसार यी संरचनाले दर्शकलाई नयाँ अनुभव दिलाउनुका साथै महोत्सवको आकर्षण बढाउनेछन्। सहआयोजक दोभान आमा समूहकी अध्यक्ष राधिका थापाले धर्म, संस्कृति र स्वाभिमानको संरक्षण गर्दै स्थानीयलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएकी छन्।

तर महोत्सवको सफलता कलाकारको प्रस्तुति, लण्डन ब्रिज र भ्यू टावरको आकर्षणमा मात्रै सीमित हुनु हुँदैन। स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीको व्यापार वृद्धि, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा कति योगदान पुग्छ भन्ने कुराले नै यसको वास्तविक उपलब्धि मापन गर्नेछ। दोभान युवा क्लबको आयोजना तथा दोभान आमा समूहको सहआयोजनामा भइरहेको महोत्सवको व्यवस्थापन औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल, काठमाडौंले गरेको छ। आयोजकले उल्लेख्य दर्शक सहभागिता र राम्रो आर्थिक कारोबारको अपेक्षा गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button