हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङका दुई चिकित्सकको उत्कृष्ट सेवा प्रदेश सरकारबाट सम्मानित

• विजय अधिकारी (संवाददाता) लमजुङ, ५ मंसिर २०८३ शनिबार । स्वास्थ्य सेवामा जिम्मेवारी, समर्पण र उत्कृष्ट कार्यसम्पादन देखाएका लमजुङका दुई चिकित्सक गण्डकी प्रदेश सरकारबाट सम्मानित भएका छन्। सम्मानित हुनेमा बेँसीशहरस्थित प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा र क्व्होलासोथार गाउँपालिका–९ स्थित साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीमा कार्यरत डा. सागर थापा रहेका छन्।

अस्पतालको सेवा व्यवस्थापनदेखि दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउनेसम्मको योगदानको कदर गर्दै प्रदेश सरकारले उनीहरूलाई सम्मान गरेको हो।डा. देवकोटा उत्कृष्ट चिकित्सा सेवा तथा प्रशासनिक कार्यसम्पादनका लागि सम्मानित भएका हुन् भने डा. थापाले ग्रामीण स्वास्थ्य सेवामा पुर्‍याएको उत्कृष्ट योगदानका आधारमा सम्मान पाएका हुन्। स्वास्थ्य सेवाको पहुँच सहज नभएका ग्रामीण क्षेत्रमा रहेर नागरिकको उपचारमा सक्रिय डा. थापाको योगदान र अस्पतालको सेवा प्रवाह तथा व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. देवकोटाको कार्यसम्पादनलाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको छ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमका अवसरमा शुक्रबार दुवै चिकित्सकलाई सम्मान गरेको हो। एउटै जिल्लाका दुई चिकित्सक फरक–फरक कार्यक्षेत्रमा उत्कृष्ट ठहरिँदै प्रदेशस्तरीय सम्मानबाट सम्मानित हुनुले लमजुङको स्वास्थ्य क्षेत्रका लागि गौरव थपेको छ। यो सम्मान उनीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मीका लागि समेत प्रेरणाको विषय बनेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button