हेडलाईनसमाचारगण्डकीखेलकुद

कर न्याय र सुशासनको सन्देश बोकेर दमौलीमा कर्मचारीबीच फुटबल भिडन्त

प्रहार समाचार । तनहुँ, ५ मंसिर २०८३ शनिबार । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा तनहुँको दमौलीमा प्रदेश सङ्घीय तहका कर्मचारी र स्थानीय तहका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ। तस्बिरहरु : प्रहार अनलाइन मिडिया ।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित आयोजित प्रतियोगिताले करप्रतिको नागरिक दायित्व, सुशासन र समृद्धिमा सबैको सहभागिताको सन्देश प्रवाह गरेको छ। कर्मचारी मिलन केन्द्र तनहुँको आयोजना तथा आन्तरिक राजस्व कार्यालय दमौलीको सहआयोजनामा आज र भोलि व्यास नगरपालिका–स्थित बीपी वन बाटिका खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको हो।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले खेलकुदले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना विकास गर्नुका साथै स्वस्थ र अनुशासित समाज निर्माणमा योगदान पुर्‍याउने उल्लेख गरे।

त्यस्तै, तनहुँका प्रमुख कर अधिकृत मानप्रसाद भण्डारीले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रभावकारी बनाउन नागरिक सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।

कर दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी सामाजिक सम्बन्ध र जनचेतना अभिवृद्धिसँग जोड्न यस्ता गतिविधि महत्वपूर्ण हुने उनको भनाइ थियो। कर्मचारी मिलन केन्द्र तनहुँका कार्यवाहक अध्यक्ष अमर दवाडीले स्वागत गर्दै प्रतियोगिताले विभिन्न तह र निकायमा कार्यरत कर्मचारीबीच आत्मीयता, भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

प्रतियोगितामा प्रदेश तथा सङ्घीय तहका कर्मचारी र स्थानीय तहका कर्मचारीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भइरहेको छ। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यालयको जिम्मेवारीमा फरक भए पनि खेलमैदानमा एउटै टिम बनेका कर्मचारीले फुटबलमार्फत एकता, सहकार्य र सद्भावको सन्देश दिएका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button