हेडलाईनसमाचारबागमती

जम्बो टोलीसहित भारत उडे प्रधानमन्त्री शाह, पहिलो विदेश भ्रमणमै सम्बन्ध र लगानीलाई प्राथमिकता

प्रहार समाचार । काठमाडौँ , ६ मंसिर २०८३ आइतबार । प्रधानमन्त्री वालेन्द्र शाह जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो । भ्रमणलाई औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित नराखी नेपाल–भारत सम्बन्धलाई आर्थिक सहकार्य, ऊर्जा र पूर्वाधार विकाससँग जोड्ने अवसरका रूपमा हेरिएको छ । ३४ स भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट, विदेशमन्त्री एस जयशङ्करसँग छलफल तथा सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

राजनीतिक सद्भावभन्दा आर्थिक उपलब्धिमा जोड दिने तयारीसहित भारत पुगेका शाहको भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकास मुख्य एजेन्डा रहनेछन् । दुई देशबीच सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी गरिएको छ । नेपालमा भारतीय लगानी भित्र्याउने उद्देश्यले नेपाल–भारत बिजनेस फोरम आयोजना गरी भारतीय व्यवसायीलाई नेपालको लगानी नीति र सम्भावनाबारे जानकारी गराइनेछ । यसले वर्षौंदेखि चर्चामा रहने तर कार्यान्वयनमा ढिलाइ हुने गरेका द्विपक्षीय प्रतिबद्धतालाई व्यवहारमा उतार्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नलाई पनि केन्द्रमा ल्याएको छ ।

प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ जनाको जम्बो टोलि सहभागी छन् । सोमबार महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धासुमन अर्पण गरेपछि प्रधानमन्त्री शाह साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । अब यो भ्रमणको वास्तविक सफलता भेटघाट, स्वागत र समझदारीपत्रको सङ्ख्याले होइन, नेपालले ऊर्जा, व्यापार, पारवहन र लगानीका क्षेत्रमा कति ठोस उपलब्धि हासिल गर्छ भन्ने आधारमा मापन हुनेछ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button