प्रहार समाचार । तनहुँ, ६ मंसिर २०८३ आइतबार । सडकमा नियम मिच्ने प्रवृत्ति र बढ्दो दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने लक्ष्यसहित तनहुँ प्रहरीले चालक सचेतना अभियानलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका ट्राफिक प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न सडकखण्डमा सञ्चालन गरेको अभियानमार्फत १ सय ९८ वटा सवारी साधनका चालक तथा यात्रुलाई सडक सुरक्षाबारे सचेत गराएको छ । अभियानका क्रममा ४९ वटा दुईपाङ्ग्रे, ७५ वटा चारपाङ्ग्रे साना र ७४ वटा ठूला सवारी साधनका चालक तथा यात्रुलाई ट्राफिक नियम र सुरक्षित यात्राबारे जानकारी दिइएको प्रहरीले जनाएको छ ।दुर्घटना भएपछि कारबाही र उद्धारमा खटिनुभन्दा दुर्घटना हुनै नदिन चालकको व्यवहार बदल्ने उद्देश्यले प्रहरीले सचेतनामूलक अभियानलाई प्राथमिकता दिएको देखिन्छ ।

अभियानका क्रममा तीव्र गति, लापरबाहीपूर्ण ओभरटेक, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति तथा ट्राफिक नियमको बेवास्ताले निम्त्याउन सक्ने जोखिमबारे चालक र यात्रुलाई सचेत गराइएको छ । प्रहरीले गति सीमाको पालना, सुरक्षित ओभरटेक र जिम्मेवार सवारी सञ्चालनमा जोड दिएको छ ।सवारी दुर्घटना केवल चालकको गल्तीमा मात्र सीमित नभई यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसँग जोडिएको गम्भीर विषय भएकाले प्रहरीले सचेतनालाई व्यवहारमै उतार्न आग्रह गरेको छ ।












