प्रहार समाचार । देवघाट, ७ मंसिर २०८३ सोमबार । दुर्लभ धार्मिक तीर्थस्थल देवघाटधामको धार्मिक महत्त्व र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यले सोमबार देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८३ आयोजना हुने भएको छ ।

तनहुँ, चितवन र नवलपुर तीन जिल्लामा फैलिएको देवघाटधामलाई धार्मिक आस्था, वैदिक सनातन धर्म र सांस्कृतिक सभ्यताको साझा केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । त्रिशूली र कालीगण्डकी नदीको पवित्र संगमस्थलमा हुने यो धार्मिक आयोजनाले देवघाटको पहिचानलाई केवल स्नान र दर्शनमा सीमित नराखी यसको आध्यात्मिक महिमा र पर्यटन सम्भावनालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ ।नेपाल सन्त समाजको आह्वान, देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वय तथा देवघाट क्षेत्रमा साधनारत सन्त–महात्माहरूको अगुवाइमा महोत्सव हुन लागेको हो ।
कार्तिक शुक्ल वैकुण्ठ चतुर्दशीका दिन बिहान ७ बजे त्रिशूली र कालीगण्डकीको संगममा गण्डकी पूजा गरी परिक्रमा महोत्सवको शुभारम्भ गरिनेछ । पवित्र संगमको आध्यात्मिक ऊर्जा र धार्मिक महत्त्वलाई आत्मसात् गर्दै गरिने परिक्रमाले सनातन धर्म, संस्कार र संस्कृतिको प्रचारप्रसारमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।तर देवघाटको महिमा धार्मिक प्रवचन र पूजाआजामा मात्र सीमित राखेर पुग्दैन । तीन जिल्लामा फैलिएको यस पवित्र क्षेत्रको व्यवस्थित पूर्वाधार, संरक्षण, प्रचारप्रसार र दीर्घकालीन पर्यटन विकासमा राज्य तथा सम्बन्धित निकायको प्रभावकारी भूमिका अपरिहार्य छ ।











