हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दीपुरमा विवाद मिलाउन २२ मेलमिलापकर्ता नियुक्त, न्यायलाई गाउँमै सहज बनाउने पहल

प्रहार समाचार । तनहुँ, ८ मंसिर २०८३ मंगलबार । सामान्य विवादले अदालतसम्मको बाटो तय गर्नुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीयस्तरमै न्याय निरूपणलाई प्रभावकारी बनाउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिकाले २२ जना मेलमिलापकर्ता नियुक्त गरेको छ ।

स्थानीय विवादलाई स्थानीय तहबाटै मेलमिलापमार्फत समाधान गर्न तथा न्यायिक समितिको कामकारबाहीलाई थप प्रभावकारी बनाउन नव नियुक्त मेलमिलापकर्ताहरूको शपथ ग्रहण, प्रतिबद्धता पत्रमा हस्ताक्षर तथा नियुक्ति पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

न्यायिक समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले मेलमिलापकर्ताहरूलाई शपथ ग्रहण गराउँदै निष्पक्षता, पारदर्शिता र जिम्मेवारीपूर्वक विवाद समाधानमा जुट्न जोड दिइन् । उनले मेलमिलापलाई सामाजिक सद्भाव कायम गर्ने र नागरिकलाई सहज न्यायको अनुभूति दिलाउने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन् ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ बाट ७ जना, वडा नम्बर ४ बाट ४ जना, वडा नम्बर ६ बाट ३ जना र अन्य वडाबाट समेत गरी कुल २२ जना मेलमिलापकर्तालाई नियुक्ति पत्र वितरण गरिएको हो । नियुक्त मेलमिलापकर्ताहरूलाई ४८ घण्टे तालिम प्रदान गरी वडा सचिवको संयोजकत्वमा मेलमिलाप संयन्त्र गठन गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय नागरिकबाट विवादसम्बन्धी निवेदन परेपछि वडा सचिवले आवश्यक समन्वय गर्ने र छ वटै वडाका वडा अध्यक्षहरूको सहभागितामा विवाद समाधान प्रक्रियालाई अघि बढाइने व्यवस्था गरिएको छ ।

यसले सामान्य विवादमा नागरिकले अनावश्यक समय, खर्च र झन्झट व्यहोर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय विवादलाई अदालतसम्म पुर्‍याउनुभन्दा आपसी समझदारी र मेलमिलापबाट समाधान गर्नु सामाजिक सद्भाव र न्यायपूर्ण समाज निर्माणका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै मेलमिलापकर्ताहरूलाई जिम्मेवारी निर्वाहमा इमानदार, निष्पक्ष र संवेदनशील बन्न आग्रह गरे । स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको यस पहलले नागरिकको घरदैलोमै न्यायको अनुभूति दिलाउने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ । गाउँपालिकाले नव नियुक्त सम्पूर्ण मेलमिलापकर्ताहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button