हेडलाईनव्याससमाचारगण्डकी

मेलमिलाप कृषि सहकारीको नेतृत्वमा पोख्रेल, नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

प्रहार समाचार । तनहुँ, ८ मंसिर २०८३ मंगलबार । तनहुँको व्यास नगरपालिका–२, दमौलीस्थित मेलमिलाप कृषि सहकारी संस्था लिमिटेडको नेतृत्वमा कल्पना पोख्रेल आएकी छन्।

संस्थाको पाँचौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आज पदभार ग्रहण गर्दै सहकारीको नेतृत्व सम्हालेको हो। नेतृत्व हस्तान्तरणसँगै संस्थाको आगामी कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारी र अधिवेशनबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। पदभार हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चुडामणि दाहालले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई संस्थाको माइन्युट हस्तान्तरण गर्दै सहकारीलाई थप उन्नति र प्रगतितर्फ अघि बढाउन नयाँ नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। नयाँ कार्यसमितिमा उपाध्यक्ष राधिका परिचार, सचिव माधव खनाल, सहसचिव पार्वती गिरी, कोषाध्यक्ष वीरेन्द्रराज काफ्ले तथा सदस्यहरू मिमकुमारी हमाल, शंकरराज नहर्की, खगनिधि हड्खले र गीतादेवी नहर्की रहेका छन्।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा भरतराज नहर्कीले जिम्मेवारीसहित शपथ लिएका छन्। नयाँ कार्यसमितिको बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिँदै संस्थाको आर्थिक तथा प्रशासनिक कामकाजलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ। तत्काल नयाँ पदाधिकारीमार्फत बैंक खाता सञ्चालन गर्ने, साधारणसभाले दिएका निर्देशन कार्यान्वयन गर्ने तथा कानुनी अधिकृत र कानुनी सल्लाहकार नियुक्त गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। सहकारीको आगामी यात्रा केवल नेतृत्व परिवर्तनमा सीमित नराखी संस्थागत सुशासन, पारदर्शिता र सदस्यको हितलाई केन्द्रमा राख्नुपर्ने चुनौती नयाँ नेतृत्वसामु देखिएको छ। कार्यक्रममा निवर्तमान उपाध्यक्ष कृष्णचन्द्र पाण्डे, पूर्व शिक्षा सदस्य दयाराज कट्टेल, कानुनी सल्लाहकार अधिवक्ता कमलामोहन वाग्ले तथा पाँचौँ अधिवेशन निर्वाचन समितिका संयोजक डम्बरदेव हड्खलेलगायतको उपस्थिति थियो। बैठकले सल्लाहकार मनोनयनसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको व्यवस्थापक पूजा भट्टराईले जानकारी दिइन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button