प्रहार समाचार । काठमाडौं, मंसिर १० बुधबार । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस वर्ष जनवरी २९ मा सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको थियो।

उक्त मूल्यसँग तुलना गर्दा हाल सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँले सस्तो भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट, अमेरिकी डलरको मजबुती तथा ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तनलाई सुनको मूल्य घट्नुका प्रमुख कारणका रूपमा हेरिएको छ। साथै, अन्तर्राष्ट्रिय बजारको मूल्य र अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दरले पनि नेपालको सुन बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।मूल्यमा आएको ठूलो गिरावटसँगै नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्ताको चासो बढेको छ।

विशेषगरी विवाहको मौसम सुरु भएसँगै मूल्य घटेको अवसरमा सुन खरिद गर्ने ग्राहकको आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ।यसैबीच, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ।वर्षको सुरुवातमा ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य अहिले उल्लेखनीय रूपमा घटे पनि अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण आगामी दिनमा यसको मूल्य कस्तो रहनेछ भन्ने विषयमा अन्योल कायम छ।











