प्रहार समाचार । तनहुँ, १० मंसिर २०८३ बिहीबार । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप बढेको भन्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारलाई खबरदारी गरेको छ।

सञ्चारमाध्यममै प्रवेश गरेर पत्रकारमाथि धरपकड हुँदा पनि दोषीमाथि कारबाही नभएको भन्दै महासंघले जिल्ला प्रशासन कार्यालय तनहुँअगाडि धर्ना दिएको हो। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘महासंघका माग तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ जस्ता नारासहित पत्रकारहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

धर्नापछि आयोजित कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले सरकार सञ्चारमाध्यमप्रति अनुदार बन्दै गएको आरोप लगाए। सञ्चारमाध्यममै पुगेर पत्रकारमाथि धरपकड गरिनु र घटनामा संलग्नमाथि कारबाही नहुनुले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो। उनले पत्रकारमाथिको धरपकड र दमन तत्काल रोक्न तथा महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारसँग माग गरे।लोकतन्त्रमा सरकारको आलोचना गर्ने आवाजलाई सुरक्षित राख्नु राज्यको दायित्व हो।
तर पत्रकारमाथि हुने धरपकड र सञ्चारमाध्यममाथिको हस्तक्षेपका घटनाले प्रेस स्वतन्त्रताको वास्तविक अवस्थामाथि प्रश्न उठाएको महासंघको ठहर छ। पत्रकारलाई निर्भीक भएर समाचार लेख्ने वातावरण सुनिश्चित गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न माग गर्दै महासंघले गरेको धर्नाले सरकारलाई स्पष्ट सन्देश दिएको छ—पत्रकारको कलममाथि दबाब सिर्जना गरेर लोकतान्त्रिक आवाज कमजोर पार्न सकिँदैन।











