हेडलाईनसमाचारबागमती

कामदार पठाउने धन्दामा पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ

प्रहार समाचार । काठमाडौं, १० मंसिर २०८३ बिहीबार । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार अर्याललाई पक्राउ गरिएको हो। उनी कहाँबाट र कुन अवस्थामा पक्राउ परेका हुन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

पक्राउबारे थप विवरण पछि सार्वजनिक गरिने स्रोतको भनाइ छ। कामदारको पसिना र बाध्यतालाई कमाइको माध्यम बनाएको आरोपमा भइरहेको अनुसन्धान अब उच्च प्रशासनिक तहसम्म पुगेको छ। यसअघि तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

पूर्व मुख्यसचिवसमेत पक्राउ परेपछि वैदेशिक रोजगारीसँग जोडिएको भनिएको अवैध आर्थिक सञ्जाल र त्यसमा संलग्न उच्चपदस्थ व्यक्तिहरूको भूमिकामाथि थप प्रश्न उठेको छ। यो प्रकरण अब सामान्य ठगीको विषय मात्र रहेन, राज्यको नीति निर्माण र प्रशासनिक नेतृत्वसम्मको जवाफदेहिताको परीक्षा बनेको छ। वैदेशिक रोजगारीमा जाने युवाको भविष्य र परिवारको सपना बेचेर कसैले आर्थिक लाभ लिएको हो भने पद, पहुँच र राजनीतिक संरक्षणका आधारमा उन्मुक्ति पाउनु हुँदैन।

अनुसन्धानले आरोपको सत्यतथ्य उजागर गर्दै यसमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने दबाब बढेको छ। तर पक्राउ पर्दैमा कसुर प्रमाणित भएको मानिँदैन; निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाबाट दोषी ठहर हुनेलाई कारबाही गर्नु नै राज्यको वास्तविक जवाफदेहिता हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button