प्रहार समाचार । तनहुँ, १ कार्तिक २०८३ शनिबार । अर्जेन्टिनी फुटबलका महान् खेलाडी लियोनल मेस्सीले फेरि एकपटक आफ्नो जादुई खेल प्रदर्शन गर्दै इन्टर मियामीलाई एटलान्टा युनाइटेडविरुद्ध ३–१ को शानदार जित दिलाएका छन्।

दोस्रो हाफमा मात्र चार मिनेटको अन्तरालमा दुई गोल गर्दै मेस्सीले खेलमा आफ्नो दबदबा कायम गरेका हुन्।खेलको पहिलो हाफको अन्त्यतिर ४५औँ मिनेटमा लुइस सुवारेजको क्रसमा जर्मान बेर्तेरामेले हेडरमार्फत गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा मैदानमा चम्किएका मेस्सीले ५६औँ र ६०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जितलाई थप मजबुत बनाए।मेस्सीले पूरा ९० मिनेट मैदानमा बिताउँदै विपक्षीको पोस्टमा चार सट अन टार्गेट प्रहार गरे।

उनको व्यक्तिगत प्रदर्शनलाई १० मा ९.३० को उच्च म्याच रेटिङसमेत दिइएको छ।यो जितसँगै इन्टर मियामीले लिगको आफ्नो अभियानमा महत्त्वपूर्ण तीन अंक जोडेको छ। मेस्सीको उत्कृष्ट फर्मले टोलीलाई उपाधिको दौडमा थप बलियो बनाउने अपेक्षा गरिएको छ।चार मिनेट, दुई गोल र फेरि एकपटक मेस्सीको जादु! उमेरले होइन, आफ्नो खेलले महान् खेलाडीको परिचय दिने मेस्सीले फुटबलप्रेमीलाई अर्को अविस्मरणीय प्रदर्शन दिएका छन्।



















