• विजय अधिकारी ( संवाददाता) लमजुङ, ३१ असोज २०८३ शनिबार । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्री गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा सम्मानित भएका छन्।

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले खत्रीलाई हिंजो वर्षभरि गरेको कार्यसम्पादनका आधारमा सम्मान गरेका हुन्। ट्राफिक नियमको कार्यान्वयन, सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षामा पुर्याएको योगदानको कदर गर्दै उनलाई प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा पुरस्कृत गरिएको हो।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट खटिएका खत्रीले २०८२ साल कात्तिक १९ गतेदेखि लमजुङको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।

जिम्मेवारी सम्हालेपछि उनले जिल्लाको ट्राफिक व्यवस्थापन सुधार, दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण र सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गरेका छन्। ट्राफिक नियम उल्लङ्घन नियन्त्रणदेखि सडक अनुशासन कायम गराउनेसम्मका काममा देखाएको सक्रियता, इमानदारी र कर्तव्यनिष्ठालाई उनको सम्मानको प्रमुख आधार मानिएको छ।खत्रीले यसअघि २०८३ साल जेठ महिनामा पनि गण्डकी प्रदेशभरिका ट्राफिक प्रहरीमध्ये सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए।

प्रहरी दिवसमा पुनः प्रदेशस्तरीय सम्मान पाउनुले उनको कार्यसम्पादन र योगदानको मूल्याङ्कन भएको देखिन्छ। सडकमा नियम उल्लङ्घन गर्ने प्रवृत्ति नियन्त्रण, दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षित यात्रालाई प्राथमिकतामा राख्नु ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी हो। खत्रीको यो उपलब्धिले लमजुङमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सडक सुरक्षाका अभियानलाई परिणाममुखी बनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।




















