हेडलाईनसमाचारबागमतीखेलकुद

विश्वकपको सपना जोगाउन नेपालमै प्लेअफ, अब मैदानमा नतिजा देखाउने चुनौती

प्रहार समाचार । काठमाडौ, ५ कात्तिक २०८३ बिहीबार । नेपालले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकपसम्म पुग्ने सम्भावना जीवित राख्न आफ्नै घरेलु मैदानमा विश्वकप क्वालिफायर प्लेअफ आयोजना गर्ने भएको छ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगिता नेपाली क्रिकेटका लागि अवसरसँगै अग्निपरीक्षा पनि हो। घरेलु मैदान, दर्शकको साथ र परिचित वातावरणको फाइदा उठाउँदै नेपालले अब विश्वकप यात्राको ढोका खोल्न मैदानमै आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ। विश्वकपको सपना देखाउने नेपाली क्रिकेटले लिग–२ मा शीर्ष चारभित्र स्थान बनाउन नसकेपछि मुख्य क्वालिफायरमा सीधा प्रवेश पाउन सकेन। अब प्लेअफमा सहभागी आठ टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष चारमा पर्न सके मात्र नेपाल मुख्य क्वालिफायरमा प्रवेश गर्नेछ। त्यहाँबाट विश्वकप खेल्ने सम्भावना कायम रहन्छ। तर घरेलु मैदानमा प्रतियोगिता हुनु मात्रै सफलताको ग्यारेन्टी होइन। कमजोर ब्याटिङ, अस्थिर बलिङ र दबाबपूर्ण अवस्थामा देखिने प्रदर्शनका कमजोरी सुधार्न नसके समर्थकको उत्साह र घरेलु मैदानको फाइदा निरर्थक बन्न सक्छ।नेपालका लागि यो प्रतियोगिता केवल अर्को क्रिकेट प्रतियोगिता होइन, विश्वकपसम्म पुग्ने सम्भावना जोगाउने निर्णायक अवसर हो।

समर्थकको हुटिङ, रंगशालाको माहोल र घरेलु मैदानको प्रतिष्ठालाई नतिजामा बदल्ने जिम्मेवारी खेलाडी तथा टोली व्यवस्थापनकै हो। क्रिकेटप्रेमीलाई उत्साहित बनाउने घोषणा र पोस्टरभन्दा मैदानमा देखिने अनुशासन, रणनीति र जितले नेपालको वास्तविक हैसियत निर्धारण गर्नेछ। अब नेपाली क्रिकेटले बहाना होइन, प्रदर्शन देखाउनुपर्छ; विश्वकपको सपना भाषणले होइन, जितले पूरा हुन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button