प्रहार समाचार । काठमाडौं, १० कात्तिक २०८३ मंगलबार । अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै पदीय मर्यादा र नेपालको सन्तुलित परराष्ट्र नीतिमाथि प्रश्न उठाएका छन्।

हमालले अर्थमन्त्रीको प्रस्तुतिले नेपालको लामो समयदेखिको सैद्धान्तिक परराष्ट्र नीतिको जग खल्बल्याउने जोखिम रहेको टिप्पणी गर्दै यस्तो व्यवहारले राष्ट्रिय सार्वभौमसत्ताको मर्यादामा आँच पुग्नुका साथै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धको समेत उपहास हुने बताएका छन्। हमालका अनुसार परराष्ट्र नीति कुनै व्यक्तिको तजबिज, राजनीतिक लाभ–हानि वा व्यक्तिगत प्रशंसा र चाकडीको विषय होइन, यो राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र दिगो कूटनीतिक सिद्धान्तसँग जोडिएको संवेदनशील विषय हो। उनले सार्वजनिक पदमा रहेका व्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा देशको प्रतिष्ठा र राष्ट्रिय अडानलाई कमजोर पार्ने गरी प्रस्तुत हुन नहुनेमा जोड दिएका छन्।
नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आत्मीयतामा आधारित रहेकाले छिमेकीसँग सम्बन्ध सुदृढ बनाउनु आवश्यक भए पनि त्यसका नाममा नेपालको राष्ट्रिय मर्यादा र कूटनीतिक सन्तुलनमा सम्झौता गर्न नहुने उनको स्पष्ट धारणा छ।नेपाल र भारतबीच सीमा विवाद तथा आर्थिक परनिर्भरताजस्ता ऐतिहासिक जटिलता कायम रहेको उल्लेख गर्दै हमालले सरकारले सस्तो प्रचारबाजी र भाषणभन्दा स्थापित कूटनीतिक संयन्त्र, तथ्य–प्रमाण र सौहार्दपूर्ण संवादलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
‘एक नागरिकका रूपमा म छिमेकीसँग सम्बन्ध बलियो बनाउने हर प्रयासको स्वागत गर्दछु,’ भन्दै उनले नेपाली प्रतिनिधिहरूले परिपक्व कूटनीतिक विवेक प्रदर्शन गरी नेपालको अडानलाई मर्यादित र सन्तुलित रूपमा प्रस्तुत गर्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्। हमालको टिप्पणीले छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउने नाममा राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादाको सीमा कहाँसम्म हुनुपर्छ भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ ।

















