लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमती

महान पर्व दशैंलाई आजबाट बिदाइ गरिंदै : महालक्ष्मीको आराधना र जाग्राम बस्ने परम्परा

प्रहार समाचार । तनहुँ, ८ कात्तिक २०८३ आईतबार । नेपालीको महान् पर्व बडादसैँ आजबाट समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाको साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परासँगै १५ दिन लामो दुर्गा पक्षलाई बिदाइ गरिँदैछ ।

दसैँको मुख्य दिन विजयादशमीदेखि सुरु भएको टीका, जमरा र मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैबाट समाप्त हुन्छ । धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मीले जाग्राम बसेका घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् । यही विश्वासका आधारमा महालक्ष्मीको पूजा आराधना र जाग्राम बस्ने चलन रहिआएको छ । आजै नवदुर्गाको प्रसादस्वरूप लगाइएको जमरा नजिकका नदी, तलाउ तथा पवित्र तीर्थस्थलमा विसर्जन गरिन्छ ।

शास्त्रीय विधिअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्यसमेत आजै सम्पन्न हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।नवरात्र र विजयादशमी सकिए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमामा मात्र समाप्त हुने धार्मिक मान्यता छ । कौमुदी पूर्णिमाका नामले समेत चिनिने यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार इन्द्रको पूजा गर्ने तथा राति जुवा खेल्ने परम्परासमेत रहेको छ । यससँगै दसैँको उल्लासमय माहोल बिदा हुँदैछ भने कात्तिक ९ गते सोमबारदेखि कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदानको धार्मिक क्रम सुरु हुने समितिले जनाएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button