• विजय अधिकारी ( संवाददाता ) लमजुङ, १५ कात्तिक २०८३ । जिल्ला बाल क्लब सञ्जाल लमजुङको अध्यक्षमा सुन्दरबजारकी अनुपम गौली सर्वसम्मत निर्वाचित भएकी छन् ।

बालबालिकाको हकअधिकार संरक्षण, अर्थपूर्ण सहभागिता र उनीहरूका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यसहित गठित जिल्ला स्तरीय सञ्जालको नेतृत्व गौलीले पाएकी हुन् । नवगठित समितिको उपाध्यक्षमा दुधपोखरीकी इमेलता गुरुङ, सचिवमा बेसीसहरकी अपेक्षा अधिकारी र सहसचिवमा मध्यनेपालकी संस्कृति पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यमा अनुषा भुजेल, अनुषा परियार, सिरिका सांखी, शेरबहादुर गुरुङ, अनु तामाङ, सुमिना गुरुङ, विप्सन भुजेल र अनु खत्री चयन भएका छन् । एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यालयका भानुभक्त थापा मगरले बाल सञ्जाल गठनसम्बन्धी मापदण्ड र विषयगत एजेन्डाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दिवाकर शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव वाग्लेलगायत स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरूको उपस्थिति थियो ।बालबालिकाका नाममा कार्यक्रम र औपचारिकता थपिँदैमा उनीहरूका समस्या समाधान हुँदैनन् ।
नवगठित जिल्ला बाल सञ्जालले बालअधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि र बालबालिकामाथि हुने विभेद, हिंसा तथा अन्य समस्याविरुद्ध आवाज उठाउँदै सम्बन्धित निकायलाई जवाफदेही बनाउन कस्तो भूमिका खेल्छ भन्ने कुरा अबको मुख्य परीक्षा हुनेछ । बालबालिकाको आवाज केवल बैठक र मञ्चमा सीमित नराखी नीति, निर्णय र व्यवहारमा स्थापित गर्न सके मात्रै यो सञ्जालको गठन सार्थक हुनेछ । कार्यक्रमको सहजीकरण अल्पकालीन आश्रय सेवा केन्द्रकी प्रमुख सिर्जना पौडेलले गरेकी थिइन् ।

















