प्रहार समाचार । काठमाडौं, १७ कात्तिक २०८३ सोमबार । नेपाली कांग्रेसकी नेत्री एवं साहित्यकार शोभा अधिकारीले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध कविता लेखेकै आधारमा आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै राजनीतिक असहिष्णुता र आपराधिक मानसिकतामाथि कडा प्रहार गरेकी छन् ।

उनले विचार र सिर्जनाको प्रतिवाद गर्न नसक्नेहरू धम्की, गालीगलौज र अश्लील व्यवहारमा उत्रिनु लोकतान्त्रिक संस्कारमाथिकै प्रहार भएको बताउँदै प्रश्न गरेकी छन्, ‘कविको कविताबाट यति धेरै डराउने नेतृत्व कस्तो हो र एउटा कविता लेखेकै आधारमा ज्यान मार्ने धम्की दिने अधिकार कसले दियो?’अधिकारीले आफू कुनै प्रतिशोध वा रहरले नभई तीन दशकदेखि साहित्य सिर्जनामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै हालसम्म ७ सय भन्दा बढी लेखरचना प्रकाशित भएको, दुईवटा पुस्तक प्रकाशन भइसकेको र पाँचवटा पुस्तक प्रकाशोन्मुख अवस्थामा रहेको बताएकी छन्।
राजनीतिक विकृति र विसङ्गतिमाथि कलम चलाउँदा परिचय लुकाएर सामाजिक सञ्जालमा गालीगलौज गर्ने तथा इनबक्समा ज्यान मार्ने र अश्लील धम्की दिने प्रवृत्तिले समाजको राजनीतिक चेतना र संस्कारमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ। उनले धम्की र दुर्व्यवहारका प्रमाण सुरक्षित राखेको जनाउँदै आवश्यक परे सम्बन्धित निकायमा पुगेर कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएकी छन्। अधिकारीको प्रतिवादले राजनीतिक दल र तिनका समर्थकलाई एउटा गम्भीर प्रश्न तेर्स्याएको छ—लोकतन्त्रमा कविता लेख्ने स्वतन्त्रता पनि नेतृत्वको चित्त बुझ्नुपर्ने विषय हो?
विचारसँग असहमति राख्न पाइन्छ, तर असहमतिका नाममा सर्जकको मुख थुन्ने, जीवनमाथि धम्की दिने र सिर्जनामाथि आक्रमण गर्ने छुट कसैलाई छैन। राजनीतिक शक्तिको वास्तविक परीक्षा आलोचना सहन सक्ने क्षमता हो, आलोचकलाई तर्साउने सामर्थ्य होइन। अधिकारीले आफू धम्कीका अगाडि नझुक्ने र समाजका विकृति तथा विसङ्गतिविरुद्ध कलम चलाइरहने स्पष्ट पार्दै भनेकी छन्, ‘मेरो कलमसँग तर्क गर, मेरो जीवनसँग खेल्ने धम्की नदेऊ।’

















