प्रहार समाचार । तनहुँ, १५ असोज २०८३ आइतबार । नेपाली कांग्रेस १५ औं महाधिवेशन (निर्यमित) अन्तर्गत तनहुँको क्षेत्र नम्बर २ को क्षेत्रिय अधिवेशन आज सम्पन्न भएको छ । क्षेत्रीय अधिवेशनबाट नरेन्द्र थापा सर्वसम्मत रूपमा क्षेत्रीय सभापतिमा चयन भएका छन् ।

अधिवेशनले क्षेत्र नं. २ (१) को प्रदेश सभापतिमा दीपक मल्ल र क्षेत्र नं. २ (२) को प्रदेश सभापतिमा राजेश खनाललाई निर्वाचित गरेको छ ।

क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा पुष्पराज पराजुली, प्राडा कृष्णप्रसाद गौतम, बलबहादुर आले, महेश्वर भट्टराई, चामबहादुर थापा, राजेन्द्रप्रकाश घिमिरे, इन्द्रप्रसाद पौडेल, शेरजंग गुरुङ, भीमकुमार श्रेष्ठ र मोहनबहादुर राना चयन भएका छन् । महिला प्रतिनिधितर्फ शोभा कोइराला, शारदा आचार्य गैरे र जयन्ती सुवेदी चयन भएका छन् ।त्यस्तै प्रजातन्त्र सेनानीतर्फ श्याम केसी र जुक्तराज वाग्ले, विज्ञतर्फ इन्जिनियर सुवास गौतम तथा श्रमिकतर्फ प्रकाशचन्द्र पौडेल चयन भएका छन् ।

४० वर्षमुनिको प्रतिनिधिमा अनुभवी पराजुली, दलिततर्फ उमा सुनार, महिलातर्फ माया गुरुङ र टुकामाया थापा चयन भएका छन् । आदिवासी जनजातितर्फ हिरालाल गुरुङ, ध्रुवकुमार श्रेष्ठ र मथुराकृष्ण श्रेष्ठ तथा अन्य समूहबाट पुण्य हिराचन चयन भएका छन् । अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।स्थानीय तहको नेतृत्वमा पनि नयाँ जिम्मेवारी बाँडफाँट भएको छ । शुक्लागण्डकी नगर सभापतिमा रवि केसी, ऋषिङ गाउँपालिका सभापतिमा मनबहादुर थापा, घिरिङ गाउँपालिका सभापतिमा पूर्णबहादुर कुमाल र भिमाद नगर सभापतिमा चन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।

क्षेत्रीय अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गरेका थिए । उद्घाटनका क्रममा भण्डारीले नियमित महाधिवेशनले पार्टीलाई सही दिशामा लैजाने बताउँदै कांग्रेसको संगठन जोगाउन नेता तथा कार्यकर्ताले नियमित महाधिवेशनको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए ।

क्षेत्रीय संयोजक नरेन्द्र थापाको सभापतित्वमा भएको उद्घाटन सत्रमा आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, जिल्ला संयोजक प्राडा कृष्णप्रसाद गौतम, बलबहादुर आले, लक्ष्मी आचार्य, महेश्वर भट्टराई, यमुना खड्का विक, विपिन अधिकारी, सहसंयोजकद्वय डम्बर अधिकारी र कमलभक्त पोखरेल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति काजीमान श्रेष्ठ, निर्वाचन संयोजक शिवराज काफ्ले, हिरा गुरुङ, बीपी विचार समाजका केन्द्रीय सदस्य हरिशरण पण्डित, शुक्लागण्डकीका नगर संयोजक रवि केसी र उमा सुनारलगायतले धारणा राखेका थिए । तनहुँ–२ को अधिवेशनले नेतृत्व चयनसँगै कांग्रेसभित्र नियमित महाधिवेशनको बहसलाई थप राजनीतिक अर्थ दिएको छ ।



















