प्रहार समाचार । काठमाडौं, १५ कात्तिक २०८३ आइतबार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई क चेतावनी दिंदै नागरिकका मौलिक हक र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको बताएका छन् ।

सभापति थापाले नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई आज राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् । सभापति थापाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गरेर सुशासनको दुहाइ दिन नसकिने स्पष्ट पार्दै सरकारका गलत कदमविरुद्ध कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । सभापति थापाले सरकारका पछिल्ला निर्णय र देशमा घटेका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । लोकतन्त्रको नाममा शासन गर्ने तर नागरिकका अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।
लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताविपरीत हुने कुनै पनि गतिविधिलाई कांग्रेसले सहेर नबस्ने उनले स्पष्ट पारे ।सरकारलाई निरंकुश बन्नबाट रोक्नु र सत्तालाई जनताप्रति जवाफदेही बनाउनु प्रतिपक्षको प्रमुख दायित्व भएको उल्लेख गर्दै थापाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाली कांग्रेस चुप लागेर बस्दैन । हामी सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ उनले भने । सत्तामा पुग्दैमा नागरिकका अधिकारमाथि मनपरी गर्ने छुट कसैलाई नभएको सन्देश दिँदै थापाले सरकारलाई लोकतान्त्रिक मर्यादाभित्र रहेर काम गर्न चुनौती दिएका छन् ।

















