हेडलाईनसमाचारगण्डकी

सशस्त्र प्रहरी लमजुङको आठौँ स्थापना दिवस : वीरगति प्राप्त सुरक्षाकर्मीका परिवार सम्मानित

• विजय अधिकारी (संपाददाता) लमजुङ, १७ कात्तिक २०८३ मंगलबार । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङले आफ्नो आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

स्थापना दिवसका अवसरमा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गर्दै संगठनले राष्ट्र र नागरिकको सुरक्षाका लागि जीवन उत्सर्ग गर्ने सुरक्षाकर्मीको योगदान स्मरण गरेको छ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल गण्डकी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविण कँडेलले देश र नागरिकको सुरक्षाका लागि कर्तव्य निर्वाह गर्दा जीवन बलिदान गर्ने सुरक्षाकर्मीको योगदानको उच्च प्रशंसा गरे ।

उनले सुरक्षाको जिम्मेवारीसँगै विपद्का बेला नागरिकको उद्धार, राहत तथा व्यवस्थापनमा समेत सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा सुरक्षा निकायले पुर्‍याउँदै आएको योगदानको चर्चा गरे। जिल्लाको भौगोलिक बनावट र छरिएर रहेका बस्तीका कारण स्थानीय अवस्थालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।स्थापना दिवसका अवसरमा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

त्यसैगरी गुल्ममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान, सहयोगी व्यक्तिहरूलाई प्रशंसापत्र तथा विभिन्न आन्तरिक प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो। सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र पूर्व प्रहरी संगठन लमजुङका अध्यक्ष श्याम केसीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी सहायक निरीक्षक नवराज मगरले गरेका थिए। कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पूर्वसशस्त्र प्रहरी र सञ्चारकर्मीलगायतको उपस्थिति थियो। लमजुङमा २०७५ साल कात्तिक १६ गते पहिलोपटक औपचारिक रूपमा सशस्त्र प्रहरी आश्रित गुल्म स्थापना भएको थियो। आठ वर्षको संस्थागत यात्रामा गुल्मले सुरक्षा जिम्मेवारीसँगै विपद् उद्धार तथा नागरिक सेवामा पुर्‍याएको योगदानलाई स्थापना दिवसले पुनः स्मरण गराएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button