हेडलाईनसमाचारगण्डकी

लमजुङको बेसीशहरमा बाल प्रतिभाको प्रतिस्पर्धा : गायन, लेखन र चित्रकलामा उत्कृष्ट विद्यार्थी पुरस्कृत

• विजय अधिकारी (संवाददाता) लमजुङ, १८ कात्तिक २०८३ बुधबार । विद्यालयभित्र लुकेर रहेका बालप्रतिभालाई बाहिर ल्याउने उद्देश्यसहित लमजुङको बेसीशहर नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ।

एकल गायन, सिर्जनात्मक लेखन र चित्रकलामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको कार्यक्रममा तीनै विधाका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन्।

बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा एकल गायनतर्फ २१, सिर्जनात्मक लेखनतर्फ १२ र चित्रकलातर्फ १६ जना विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा एकल गायनतर्फ जनविकास माध्यमिक विद्यालय बेसीशहरकी कविता वि.क. प्रथम, प्रीति थापा द्वितीय र न्यू इरा आवासीय माध्यमिक विद्यालयकी जेनिशा परियार तृतीय भए। अन्नपूर्ण माध्यमिक विद्यालय नाल्माकी ऐश्वर्य वि.क. र जनकल्याण माध्यमिक विद्यालय उदीपुरका यहोशु तामाङले सान्त्वना स्थान हासिल गरे।त्यस्तै, सिर्जनात्मक लेखनतर्फ गंगामिलन माध्यमिक विद्यालय मकैडाँडाकी सोनिया रिमाल प्रथम, बालकल्याण माध्यमिक विद्यालय भकुण्डेकी शुभेच्छा बराल द्वितीय र जनकल्याण माध्यमिक विद्यालय उदीपुरकी स्वस्तिका जोशी तृतीय भए। जनविकास माध्यमिक विद्यालय चण्डीडाँडाकी दिव्या गुरुङ र जनविकास माध्यमिक विद्यालय बेसीशहरकी सञ्जिता परियारले सान्त्वना स्थान प्राप्त गरे।

चित्रकलातर्फ बालकल्याण माध्यमिक विद्यालय भकुण्डेकी इस्पा गुरुङ प्रथम, ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालय बेसीशहरका सुसन दियाली द्वितीय र जनविकास माध्यमिक विद्यालय चण्डीडाँडाकी स्नेहा परियार तृतीय भए। जनविकास माध्यमिक विद्यालय बेसीशहरकी सृष्टि गुरुङ र यशोब्रह्म माध्यमिक विद्यालयकी बेबिका घलेले सान्त्वना स्थान हासिल गरे।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः चार हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई जनही एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो। बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल, सामाजिक विकास समिति संयोजक मदनबहादुर राना, नगर प्रवक्ता एवं कार्यपालिका सदस्य हिरालाल विश्वकर्मा तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको उपस्थिति रहेको थियो।

शिक्षा, युवा तथा खेलकुद शाखाकी सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीको सिर्जनात्मक क्षमता, आत्मविश्वास, कला, साहित्य र अभिव्यक्ति सीप विकासमा जोड दिइएको थियो। प्रतियोगिताले विद्यालयमा सीमित रहेका प्रतिभालाई पहिचान गरी प्रतिस्पर्धाको अवसर दिएको आयोजकको अपेक्षा छ। बालबालिकाको प्रतिभा पहिचान गर्ने कार्यक्रमलाई एकदिने प्रतिस्पर्धामा मात्र सीमित नराखी उनीहरूको क्षमता विकास र निरन्तर प्रोत्साहनमा जोड दिनुपर्ने सन्देशसमेत यस कार्यक्रमले दिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button