प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८३ मंगलबार । तनहुँको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा धार्मिक आस्थाको जनलहर उर्लिएको छ। कार्तिक महिनाको तेस्रो मङ्गलबार आज एकैदिन ९१ वटा फूलको डोली भित्रिँदा साढे ९ हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर दर्शन तथा पूजाआजा गरेका छन्।

भाकल गरेर पूजा अर्चना गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण तनहुँसहित छिमेकी जिल्लादेखि काठमाडौँसम्मका भक्तजन फूलको डोली बोकेर मन्दिर पुगेका हुन्। मन्दिरमा भित्रिएका ९१ वटा फूलका डोलीमध्ये तनहुँबाट ४२, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौँबाट दुईवटा रहेका छन्। यसले थानीमाई मन्दिरप्रतिको धार्मिक विश्वास र आकर्षण जिल्ला सीमाभन्दा बाहिरसम्म फैलिएको देखाएको छ। विशेषगरी कात्तिक र माघ महिनामा लाग्ने धार्मिक मेलामा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरका अनुसार सोमबार राति नै ४२१ जना भक्तजन मन्दिर परिसरमा जाग्राम बसेर रातभर बत्ती बालेका थिए। भाकल पूरा हुने विश्वाससहित रातभर जाग्राम बस्ने, दीप प्रज्वलन गर्ने र बिहान फूलको डोलीसहित पूजाआजा गर्ने परम्परा यहाँको धार्मिक संस्कृतिको अभिन्न हिस्सा बनेको छ।
मंगलबार मात्रै ९ हजार ५ सय भन्दा बढी भक्तजनले दर्शन गरेको समितिले जनाएको छ। थानीमाई मन्दिरको पूजा विधि पनि आफ्नै मौलिक परम्परामा आधारित छ। भक्तजनले पञ्चेबाजाको तालमा नाचगान गर्दै फूलको डोलीसहित मन्दिरको तीनपटक परिक्रमा गर्छन्। त्यसपछि मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै ल्याइएको तोरण एक वा तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र प्रवेश गरी पूजाआजा गर्ने चलन छ। एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका बन्द रहने धार्मिक परम्परा रहेको छ।
समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा रहेको थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यको आकर्षक गन्तव्यसमेत हो। मन्दिरबाट गोरखाको लक्ष्मीबजार, लिगलिगकोट, पालुङटार र राइनासकोटलगायतका स्थान तथा आसपासका मनोरम हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। धार्मिक विश्वास, मौलिक पूजापरम्परा र प्राकृतिक सौन्दर्यको सङ्गम बनेको थानीमाई मन्दिरमा बढ्दो भक्तजनको उपस्थितिले यसको धार्मिक तथा पर्यटन सम्भावनालाई थप उजागर गरेको छ।

















