हेडलाईनसमाचारबन्दीपुरगण्डकीस्वास्थ्य

तनहुँको नाहालामा रक्तदान : ३५ पिन्टभन्दा बढी रगत संकलन

प्रहार समाचार । तनहुँ, २३ कात्तिक २०८३ सोमबार । अस्पतालमा रगत अभावका कारण बिरामीले उपचारमा सास्ती भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै तनहुँको बन्दीपुर गाउँपालिका–१, नाहालामा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ध्रुवतारा युवा क्लबको आयोजनामा भएको कार्यक्रममा स्थानीय युवा, समाजसेवी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा ३५ पिन्टभन्दा बढी रगत संकलन गरिएको हो। ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठसमेत सहभागी भएका थिए।

रगतको अभावमा कसैले पनि जीवनसँग संघर्ष गर्नुपर्ने अवस्था नआओस् भन्ने मानवीय सन्देशसहित आयोजित कार्यक्रममा रक्तदाताले स्वस्फूर्त रूपमा रगत दान गरेका थिए। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीअन्तर्गत कास्की प्रादेशिक रक्तसञ्चार सेवा, पोखरा–८, सृजनाचोकले प्राविधिक सहयोग गरेको थियो। रेडक्रसका स्वास्थ्यकर्मीले रक्तदाताको स्वास्थ्य परीक्षण, रक्त समूह पहिचान तथा सुरक्षित तरिकाले रगत संकलन गरेका थिए। संकलित रगतले सुत्केरी, दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा नियमित रगत आवश्यक पर्ने बिरामीको उपचारमा सहयोग पुग्ने आयोजकले जनाएको छ।रक्तदान केवल सामाजिक कार्यक्रम होइन, कसैको जीवन बचाउने मानवीय जिम्मेवारी पनि हो भन्ने सन्देश नाहालाको अभियानले दिएको छ।

अस्पतालमा रगतको आवश्यकता पर्दा अभाव झेल्नुपर्ने अवस्थालाई अन्त्य गर्न यस्ता अभियानलाई औपचारिकतामा सीमित नराखी नियमित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि यस कार्यक्रमले औँल्याएको छ। ध्रुवतारा युवा क्लबले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै रक्तदाता, रेडक्रस टोली, स्थानीयवासी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button