हेडलाईनसमाचारगण्डकी

जलजलाको जीप दुर्घटनामा लमजुङका नाबालक छोरा सहित आमाको निधन

• विजय अधिकारी (संवाददाता) लमजुङ, १८ बैशाख २०८३ शुक्रबार । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको जीप दुर्घटनाले लमजुङको एक परिवारमा अपूरणीय क्षति पुर्‍याएको छ। वैशाख पूर्णिमाको मेला भर्न जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप करिब ८ सय मिटर तल खस्दा २० जनाको ज्यान गएको घटनामध्ये लमजुङकी २४ वर्षीया लोजिना जिसी थापा (एलिसा) र उनका ४ वर्षीय छोरा संयोग थापाको पनि मृत्यु भएको हो।

मर्स्याङ्दी गाउँपालिका–९ पामचोक घर भएकी लोजिना हाल दाङको घोराहीस्थित माइतमा गएकी थिइन्। वैशाख १२ गते छोरासहित माइत पुगेकी उनी पूजा सकेपछि आफन्तहरूसँगै मेला घुम्न जाने क्रममा दुर्घटनामा परेकी हुन्। परिवारका अनुसार घुमफिरकै योजनाबीच अचानक भएको दुर्घटनाले सिंगो परिवार शोकमा डुबेको छ।लोजिना बेसीशहरस्थित मोडल सिटी अस्पतालमा करिब एक वर्षदेखि अनमीका रूपमा कार्यरत थिइन्।

उनको निधनप्रति अस्पतालले शोक विज्ञप्ति जारी गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर श्रद्धाञ्जली अर्पण गरेको थियो। अस्पताल परिवारले मेहनती र सेवाभावी स्वास्थ्यकर्मी गुमाउँदा स्तब्ध भएको जनाएको छ।यसैबीच, पामचोकस्थित सरस्वती सदन आधारभूत विद्यालयले पनि विज्ञप्ति जारी गर्दै आफ्नी शिक्षक मुना थापाकी बुहारी तथा विद्यालयका अभिभावक लोजिना र केजीमा अध्ययनरत उनका छोरा संयोगको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। लोजिनाका श्रीमान् सुशील थापा रोजगारीका लागि विदेशमा रहेका बेला भएको यस दुःखद घटनाले परिवारलाई झनै मर्माहत बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button