प्रहार समाचार । नवलपरासी (पश्चिम), १८ बैशाख २०८३ शुक्रबार । स्थानीय तहको अभिलेख प्रणालीमै गम्भीर अनियमितता देखिएको छ। सुस्ता गाउँपालिकामा जीवित व्यक्तिलाई कागजमा ‘मृत’ देखाइदिने काममा वडाकै जिम्मेवार पदाधिकारी संलग्न रहेको आरोपमा वडा अध्यक्ष, वडा सचिवसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाले स्थानीय प्रशासनको तथ्य जाँच प्रक्रिया र अभिलेख व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

प्रहरीका अनुसार तारिख मियाँ अन्सारीले जीवित व्यक्तिको नागरिकता दुरुपयोग गर्दै जन्मदर्ताको प्रतिलिपि र मृत्युदर्ता बनाउन निवेदन दिएका थिए। तर वडाले आवश्यक प्रक्रिया पूरा नगरी, स्थलगत सत्यापन नगरी र प्रमाण नखोजी सरकारी कागजातमै किर्ते गर्दै मृत्युदर्ता प्रमाणपत्र जारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
यसरी जिउँदो व्यक्तिलाई ‘मृत’ बनाइदिने कागजात जारी हुनु सेवाग्राहीको दुरुपयोग मात्र नभई संस्थागत कमजोरीको संकेत भएको प्रहरीको भनाइ छ।पक्राउ परेकामाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यस्ता घटनाले सामाजिक सुरक्षा, सम्पत्ति अधिकार र नागरिक पहिचानजस्ता संवेदनशील विषयमा दूरगामी असर पार्ने भन्दै कागजात जारी गर्ने निकायलाई कडाइका साथ प्रक्रिया पालना गर्न आग्रह गरेको छ।


























