प्रहार समाचार । तनहुँ, १९ वैशाख २०८३ शनिबार । तनहुँको व्यास नगरपालिकाले शिक्षा, फोहोर व्यवस्थापन र यातायात व्यवस्थापनसँग जोडिएका तीन प्रमुख विषयलाई तत्काल ध्यान दिनुपर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा संघीय निर्णयको पर्खाइबीच स्थानीय तहले व्यवहारिक समाधान खोज्दै अघि बढिरहेको संकेत गरिएको छ।शिक्षा क्षेत्रमा, विद्यालय सञ्चालनबारे देखिएको अन्योलबीच नगरपालिकाले हालका लागि हप्तामा ६ दिन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। विभिन्न विदा व्यवस्थापनका कारण पढाइ घण्टा घट्ने जोखिम देखिएकाले विद्यार्थीको भविष्यलाई केन्द्रमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ। संघीय सरकारले हिउँदे तथा वर्षे बिदाबारे स्पष्ट निर्णय नदिँदासम्म स्थानीय तहले निरन्तर कक्षा सञ्चालनलाई प्राथमिकता दिएको छ भने २२ गते बस्ने कार्यपालिका बैठकबाट थप निर्णय आउने संकेत गरिएको छ।यता, फोहोर व्यवस्थापनमा भने नगरपालिकाले अस्थायी चुनौती व्यहोर्नुपरेको जनाएको छ। पुनः प्रयोग हुने र कुहिने फोहोर संकलन नियमित भइरहे पनि अन्तिम रूपमा फाल्नुपर्ने फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थान अभाव भएको उल्लेख छ ।

विगतमा प्रयोग हुँदै आएको स्थान भरिएपछि नयाँ जग्गा खरिद प्रक्रिया केन्द्र सरकारबाट स्वीकृति नआउँदा ढिलाइ भएको हो। यसबीच नगरले केही दिन टोल विकास संस्था वा व्यक्तिगत पहलमार्फत व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।त्यसैगरी, पृथ्वीराजमार्ग पुनर्निर्माणपछि दमौली बजार क्षेत्रमा बढ्दो सवारी चाप र अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न नगरपालिकाले पहल थालेको छ। सरोकारवाला निकायहरूसँगको बैठकले एकतर्फी आवागमन र पार्किङ व्यवस्थापनबारे अध्ययनपछि निर्णय लिने निष्कर्ष निकालेको छ। हालका लागि करङ्गकाठस्थित बसपार्कको अधिकतम उपयोग गर्न आग्रह गर्दै नगरपालिकाले दीर्घकालीन समाधानतर्फ अघि बढ्ने जनाएको छ।


























