प्रहार समाचार । तनहुँ, १९ वैशाख २०८३ शनिबार । गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउने उद्देश्यसहित तनहुँको बन्दीपुरमा सम्पन्न ‘गाउँ पर्यटन मार्ट २०८३’ ले १० बुँदे घोषणा–पत्र सार्वजनिक गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेद्वारा प्रस्तुत उक्त घोषणा–पत्रले गाउँ केन्द्रित पर्यटनको दिगो विकास, स्थानीय उत्पादनको प्रवर्धन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ। कार्यक्रम नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। दुई दिनसम्म सञ्चालन भएको मार्टले देशभरका सरोकारवालाबीच सहकार्य र नेटवर्किङको बलियो आधार तयार पारेको आयोजकले जनाएको छ।

घोषणाअनुसार आगामी पाँचौँ संस्करण गोरखा नगरपालिकामा आयोजना गरिनेछ, जसले ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। बन्दीपुर संस्करणमा गण्डकी प्रदेशका ३० वटा होमस्टेले आफ्नो मौलिकता, संस्कृति र आतिथ्यता प्रस्तुत गर्दै स्थानीय पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिएका छन्, जसबाट होमस्टेहरूको पहिचान थप सुदृढ भएको विश्वास गरिएको छ।

त्यस्तै, प्रत्येक होमस्टेमा ‘कोसेली घर’ स्थापना गरी स्थानीय उत्पादन, हस्तकला र परिकारको प्रवर्धन गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना अघि सारिएको छ। गुणस्तरीय सेवा प्रवाहका लागि ‘बेस्ट होमस्टे अफ द इयर’ पुरस्कारको व्यवस्था, स्वच्छता र आतिथ्य सुधारका लागि तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने पनि घोषणा गरिएको छ।

समापन कार्यक्रममा अध्यक्षता गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरको मौलिक रहनसहन, मनमोहक प्राकृतिक दृश्य, ऐतिहासिक मठ–मन्दिर तथा कलाकृतिको प्रभावकारी प्रचारप्रसारमा पालिकाले जोड दिँदै आएको उल्लेख गरे। उनले आगामी दिनमा यी सम्पदाहरूलाई अझ सशक्त ढंगले प्रवर्द्धन गर्दै बन्दीपुरलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिने बताए।

घोषणापत्रले गाउँ पर्यटनलाई कृषि, हस्तकला र स्थानीय उद्यमसँग जोड्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने, युवालाई पर्यटन क्षेत्रमा आकर्षित गर्ने तथा गन्तव्यहरूबीच संयुक्त प्याकेज विकास गरी आन्तरिक पर्यटन प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ‘समृद्ध गाउँ, सशक्त पर्यटन’ को लक्ष्यसहित जारी यो घोषणा–पत्रले गाउँ पर्यटनको समग्र विकासमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।


























