हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँमा भजनमार्फत् संस्कृति जोगाउने अभियान : व्यास -५ जलेश्वर समूह प्रथम

प्रहार समाचार । तनहुँ, १९ वैशाख २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर आश्रम परिसर शनिबार भजनको मधुर धुनले गुन्जायमान बन्यो। पराशर आश्रम संरक्षण समितिको आयोजनामा सम्पन्न भजन प्रतियोगिताले हराउँदै गएको धार्मिक–सांस्कृतिक परम्परालाई पुनः जागृत गर्ने सन्देश दिएको छ। प्रतियोगितामा व्यास–५ को जलेश्वर भजन समूह उत्कृष्ट प्रस्तुति दिँदै प्रथम बनेको छ।

प्रतियोगितामा व्यासज्योति धर्म जागरण भजनकिर्तन समूह द्वितीय, आदिकवि भानुभक्त मावि तृतीय तथा नवआदर्श आमा समूह सान्त्वना स्थानमा रहे। विजेता समूहहरूलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको निर्णायक समितिका संयोजक ऋषिराम ढुङ्गानाले जानकारी दिए।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको कार्यक्रमले भजनलाई केवल धार्मिक अभ्यासमा सीमित नराखी सांस्कृतिक पहिचान र इतिहाससँग जोडिएको सम्पदाका रूपमा प्रस्तुत गरेको देखिएको छ। संरक्षण समितिका सचिव महेन्द्र गिरीले भजनमार्फत् व्यास र पराशर क्षेत्रको धार्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि तथा स्थानीय पहिचानलाई नयाँ पुस्तासमक्ष पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरिएको बताए।

आठ समूहको सहभागिता रहेको प्रतियोगितामा जलेश्वर संस्कृत भजन समूहको प्रस्तुति विशेष आकर्षण बनेको थियो। भजनसँगै अभिनयको संयोजन गरी व्यास र पराशर ऋषिको उत्पत्तिको कथा प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध बनेका थिए। प्रतियोगिताले स्थानीय तहमा सांस्कृतिक संरक्षणप्रतिको चासो बढ्दै गएको संकेतसमेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button