प्रहार समाचार । काठमाडौँ, ११ वैशाख २०८३ शुक्रबार । देशका अधिकांश तराई क्षेत्रमा तापक्रम बढ्दै जाँदा गर्मीको असर तीव्र हुने संकेत देखिएको छ भने पहाडी र हिमाली भेगमा भने मेघगर्जनसहित वर्षाको सम्भावना कायमै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी तथा स्थानीय वायुको संयुक्त प्रभाव रहँदा कोशी प्रदेशसहित हिमाली क्षेत्रमा आंशिक बदली र अन्य भागमा सामान्यतया सफा मौसम कायम छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा तथा बागमती र गण्डकीका उच्च भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा समेत मौसम सक्रिय रहने अनुमान छ भने कोशी प्रदेशको तराईका केही स्थानमा पनि वर्षाको सम्भावना औंल्याइएको छ ।
उता मधेससहित विभिन्न तराई तथा उपत्यका क्षेत्रमा तापक्रम क्रमशः बढ्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिमका तराईमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ ।आज राति भने मौसम केही सुधार हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहनेछ । तर कोशी र गण्डकीका उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना अझै कायमै रहने महाशाखाले जनाएको छ ।

























