प्रहार समाचार । काठमाडौं, १० बैशाख २०८३ बिहीबार । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी तीव्र पार्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री सुधन गुरुङ को राजीनामापछि गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उनले बुधबार साँझ सुरक्षा प्रमुखहरूसँगको भेटमा आउँदो शनिबारदेखि अभियान सुरु गर्ने तयारी गर्न भनेका हुन् । उच्च सुरक्षा स्रोतका अनुसार अभियानको सुरुवात काठमाडौं उपत्यकाबाट गरिनेछ ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारको असहयोगका कारण त्यो पहल सफल हुन सकेको थिएन । बस्ती हटाउने विषयमा अवरोध भएको भन्दै शाहले विगतमा तत्कालीन सरकारको आलोचना गर्दै आएका थिए । उनले त्यसबेला गृहमन्त्री रवि लामिछाने र नारायणकाजी श्रेष्ठ लगायतसँग पनि सहयोग मागेका थिए । यसअघि थापाथली, पेप्सीकोला लगायत क्षेत्रमा सुकुम्बासी हटाउने प्रयास गर्दा पटक–पटक झडपसमेत भएको थियो ।



























