प्रहार समाचार । काठमाडौं, १० बैशाख २०८३ बिहीबार । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिँदा मौसमले दोहोरो रूप लिएको छ। एकातिर हिमाली र पहाडी भूभागमा बादल लाग्ने तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने अर्कोतिर तराई र उपत्यकामा तातो दिनको प्रभाव बढ्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा दिउँसो मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रका बासिन्दाले भने बढ्दो गर्मीको सामना गर्नुपर्ने देखिएको छ। मधेससहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा खोँच क्षेत्रमा तापक्रम बढ्ने र विशेषगरी लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति भने मौसम केही हदसम्म स्थिर रहने संकेत छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अधिकांश स्थानमा मौसम सफा रहनेछ। यद्यपि कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



























